केशमा प्रचुर रङ्ग कोमल ।
भन्दछिन् अनि थपी तिनी त्यहाँ ॥
"फूल हेर नखरे सबै यहाँ ।
वस्त्र सुन्दर तथा सिँगारले ॥
शान गर्न चतुरा झुलीकन ।
बैंसका रस सुवासले हवा ॥
पार्दछन् सब फुलेर मग्मग ।
डाक्न ती मधुपलाइ सुन्दर ॥"
(३९)
"छाड भो ! सकल यी कुरा तिमी ।
भर्न जानु बरु फेरि है घडा ॥
नत्र काम गरिनौ भनीकन ।
जाउँला र म लगाउँला कुरा ॥"
भन्दछिन् सरस ती शकुन्तला ।
(४०)
भन्दछन् मनमनै महीप ती ।
"होइनन् द्विजसुता अलीकति॥
अप्सरा कि त नयाँ कुनै परी-
तुल्य बोल्नु गतिमा छ माधुरी ॥"
(४१)
चारु भर्न घट चल्दछिन् अब ।
कुँज्छ कोकिल 'कुहू कुहू' रव ॥
लाम्चिली हँसमुखी उचाल्दछिन् ।
नेत्र पानिभरिला त्यहाँ जब ॥
देखिने डर हुँदा यसो लुकी ॥
फर्किए नृपति, खुम्चियो सँगी ॥
(४२)
भन्छ शानहरुमा अनेकन ।
"यी असुन्दर र पापका वन ॥
घोच्दछन् कुसुम शूलले यहाँ ।
खान छैन सब पेट रित्तियो ॥
Page:Shakuntala.pdf/129
Appearance
This page has been proofread
