भन्दछन् मनमनै समुज्ज्वल ।
कीर्तिका, 'दिल रहेछ कोमल ॥
त्यत्तिकै जति छ रूप मञ्जुल ।'
(४७)
दुष्ट कृष्ण भँवरो उडीकन ।
ती कपोल दुइ फूलमोहन ॥
वन्य मिष्ठ मधुसार हुन् भनी ।
दुःख दिन्छ अब घुम्छ भुन्भुनी ॥
(४८)
प्रश्नसाथ अलि घुम्छ फन्फनी ।
केश रेशमलता भनी भनी ॥
भाव भै कुसुम रङ्गको त्यहाँ ।
घुम्छ शंसक पखेरु भुन्भुनी ॥
(४९)
'लौन लौन' सँग आत्तिँदी तिनी।
खोज्दछिन् अलि दगुर्न तैपनि ॥
के गरूँ हुन गएर त्रासले ।
'लौन लौन !' ध्वनिको मिठासले ॥
बाहुली दुइ दिई कपोलमा ।
फेरि केशतिर चट्ट फर्किदा ॥
'लौन लौन' ध्वनिकी पुकार छन् ।
लर्बरिन्छ मृदु अङ्ग, 'के गरूँ ॥
लौन लौन' सँग डाक्दछिन् तरु ।
आँधिमा सदृश छन् लताहरू ॥
पुष्प भन्दछ झुली 'म के गरूँ ?'
हास्यको सुख भए सँगी अरू ॥
भूप छन् 'अघि सरूँ कि के गरूँ ?'
भन्छ शानहरुले विदूषक ॥
झाँगलाइ 'करले, म के गरूँ ?'
हातले अलि धपाउँदो 'अलि ॥'
झर्किएए नखरे उ नक्कली ।
फर्किएर डरले यसो अलि ॥
(५०)
Page:Shakuntala.pdf/131
Appearance
This page has been proofread
