उदय स्वर्णले खुल्छ शासन ।
दिनभरी फिँजी कीर्ति घामको ॥
दिन स्वदेशमा छन् समुज्ज्वल ।
स्वर्ण अस्तले स्वर्ग भज्दछन् ॥
अस्त भै यता, देशमा अरू ।
पछि उदाउँछन्, स्वर्णकीर्तिमा ॥
(३५)
थकित झोंझले राजकाजको ।
दिन खुला हुँदा रम्य आजको ॥
अब शिकारमा जान चित्त भै ।
वन विहारमा छन् तयार ती ॥
(३६)
कनक-सूतको कोट झल्मल ।
रत्नदारमा मन्मथोज्ज्वल ॥
बगलमा धरी चर्म म्यानमा ।
अति सुहाउँदो वक्ररेख त्यो ॥
कनक ताज ली हीरकद्युति ।
रत्न लुर्कने दिव्य झल्मल ॥
विपुल भालमा पीत चन्दन ।
माल्ययुक्त छन् देशनन्दन ॥
पयर ढाक्दछन् टिम्म वस्त्रले ।
सुन सिँगारको पाउपोस छ ॥
(३७)
रथ चढे तिनी चार अश्वको ।
टलकदार छन् अश्व तेजिला ॥
टाप कट्किने, लोह झिल्किने ।
छाँटकाँटका स्निग्ध यालका ॥
गुच्छदार छन् लोल पुच्छर ।
घावमेच्छु छ्न् रोकिँदा, तर ॥
पद अधीर भै ती उचाल्दछन् ।
हिन्हिनाउँदै मार्गखातिर ॥
(३८)
Page:Shakuntala.pdf/105
Appearance
This page has been proofread
