This page has been proofread
भक्त धर्मका, युक्त कर्मका ।
साधु मर्मका विज्ञ भूपति ॥
दुष्ट व्याघ्रका चर्म नै झिकी ।
रिपु शिकारमा कीर्ति पाउँछन् ॥
(२९)
बागमा यिनी सौख राख्दछन् ।
कुसुम कीर्तिका मृदु फुलाउने ॥
सूर्य कान्तिका स्वकरले रची ।
रङ्ग रङ्गका सुरभि सुन्दर ॥
राज्यको कला छाँटकाँटमा ।
वन बनाउँदै बहु विभागमा ॥
(३०)
विज्ञको सभा ग्रह जुहारले ।
बाटुलो बनी पूर्णरूप छ ॥
निष्कलङ्कतामा नवैलिने ।
नृपतिको त्यहाँ चन्द्ररूप छ ॥
(३१)
मधुर कान छन् गानमा यिनी ।
सूक्ष्म ती कला सारका कसी ॥
समरमार्गमा चातुरी लिई ।
प्रीतिले लिने शान्तिको पथ ॥
(३२)
सत्यपालनामा सुधीर छन् ।
नीति राजको सत्यमा अडी ॥
आफूले रची जाल, पर्दछन् ।
दुष्ट माकुरा सोहि जालमा ॥
(३३)
तुल्य दृष्टि दी अल्प, उच्चमा ।
पर्णका कुटी रश्मिले छुने ॥
किरण छुन्छ जो श्रृङ्गस्वर्णका ।
बालुवाभरी सो छ झल्किने ॥
(३४)