This page has been proofread
न्याय, तौलको झैं तुला बनी ।
युगल हातको तुल्य थालमा ॥
वजन नापिने रौं प्रमाणका ।
यश फिँजाउँछन् न्यायमूर्तिको ॥
(२४)
तुहिनपूत भै पग्लिने त्यसै ।
अति दयालुता शुभ्र शैलको ॥
सलिल नागिनी भै झरेसरि ।
तरल रौप्य झैं झर्दथी तल ॥
पार्न क्षेत्रका वक्ष नै हरा ।
विमल भावले अब्धिमा पुगी ॥
स्वर्गमा चढी फेरि वर्लिन ।
(२५)
नित हरा यिनी छन् महीरुह ।
कर हजार छन् दानविस्तृत ॥
अमृतता फली प्यास मेटिने ।
खबर ल्याउँथे देवदूतले ॥
मलयसम्मका वायु चाखका ।
सुरभि कीर्तिको गन्ध पाउँथे ॥
(२६)
जति दुह्यो उती कामधेनु झैं ।
सद्गुणी त्यहीँ पाउँथे सुधा ॥
शस्य चाहिने कामधेनुमा ।
भक्ति चाहिने खालि भै यता ॥
(२७)
नीलछत्रका ग्रह जुहार झैं ।
राज्य पाउँदा चन्द्रशीतल ॥
सब प्रजा थिए चम्चमाउँदा ।
सुखप्रकाशले उत्तरोत्तर ॥
(२८)