This page has been proofread
समरघोष छन् मेघ झैं यिनी ।
अरि निभाउने घोर गर्जन ॥
रुधिर शत्रुको बन्दथ्यो झरी ।
देख्दथे त्यहाँ मित्रले तर ॥
धनुष इन्द्रको कीर्तिसुन्दर ।
दिल खुसाउने लोकको सब ॥
(२०)
हरित कुञ्जको माथि उच्चता-
साथ शृङ्गगमा रम्य ठाउँमा ॥
तुहिन देशका काँधमा कहीँ ।
शिखर उच्चमा गूँड लाउने ॥
विहगसिंह झैं व्योमचारक ।
पङ्ख कीर्तिका भूप फिँज्दथे ॥
(२१)
गगन झैं सदा यी उदार छन् ।
ग्रह विचार ती तेजदार छन् ॥
पवन चल्दछन् युग् सुवर्णका ।
विश्वप्रेमका स्वप्न बन्दछन् ॥
(२२)
सकल तारका ती विचारका ।
नीतिमा लिई तौल अड्दछन् ॥
. ईश सूर्य झैं पाउँछन् पथ ।
कर फिँजारिई सृष्टि चल्दछन् ॥
हित अगाधमा प्रेमसागर ।
पुत्रवत् प्रजालाइ हेर्दछन् ॥
रत्न रत्नका बूँद देशमा ।
जलधि कोषका झर्र भर्दछन् ॥
ज्योति झर्दछन् स्वर्ग देशका ।
पुष्प झैं कलामाथि पर्दछन् ॥
(२३)