This page has been proofread
कविहरू बनी गानका चरा ।
नीडरूपकी त्याग्दछन् धरा ॥
हृदयपङ्खले पाउँदै सुरा ।
उच्च कनकको कीर्तिकान्तिमा ॥
(१५)
मृदु मुहार ली कामदेवका ।
समरदेवता डालडोलका ॥
चतुर हान्दछन् युद्धमा शर ।
युवति दैख्दछन् पुष्पका तर ॥
(१६)
दीनका यिनी कल्पका तरु ।
कुसुम रत्न छन् बाहुमा भरी ॥
सब पुकारका श्वासले सदा ।
प्रकृत भावले आउने झरी ॥
कल्पवृक्ष त्यो स्वर्गमा बरु ।
नर निमित्तको छैन रे तरु ॥
फूल टिप्दछन् देवताहरू ।
(१७)
एक सूर्यले फुल्छ जीवन ।
नित हराभरा रङ्ग रङ्गमा ॥
किरण केन्द्र छन् चित्तका सब ।
जन जरा बनी पाउँछन् रस ॥
मधुर बीज झैं स्वप्न बढ्दछन् ।
देश कालमा रङ्ग रङ्गिन ॥
सौख्य कुन्जका वृक्ष झैं प्रजा ।
पाउँछन् हरा धन्य जीवन ॥
(१८)
स्वर्ग पङ्खका नीड सुन्दर ।
विहगभावका पत्र मन्दिर ॥
मृदु कला छ क्या रङ्ग लेखिने ।
पत्र पुष्पमा मञ्जु देखिने ॥
(१९)