Jump to content

Page:Satya harihschandra katha.pdf/45

From Nepali Proofreaders
This page has been proofread

(१६४)
देख्छू दशा हजुरको पनि यो विचित्र ।
भैगो सबै हृदय यो पनि छिद्र छिद्र ॥
हेरौं दशा कसरि निष्ठुर दैव, ऐले ।
यै निम्ति बाँचनु असल्‌ अब छैन मैले ॥

(१६५)
यस्तो विलाप्‌ गरि दुवै जन मर्न लाई ।
पक्का गरी कन तयार चिता गराई ॥
हे पृथ्वि! अन्तिम बिदा तिमि आज देऊ ।
जो जो कसूर हुनगये सब माफ देऊ ॥

(१६६)
यति भनेर रुँदै ति दुवै तहाँ ।
मृतक पुत्र सुताइ चिता महाँ ॥
सँग जलौं अब हामि भनी कन ।
जलन निश्चय सूर गरी कन ॥

(१६७)
जननि! हे जगदम्ब! शिवे! भनी ।
भगवती कन संझि लिये अनी ॥
जब यसो गरि ध्यान गरी लिए ।
सकल देव अगाडि खडा भए ॥