This page has been proofread
(१६८)
जलन भनि तयार् ती दंपती दूइ लाई ।
पख! पख! भनि रोके इन्द्रजी सामु आई ॥
अमृत छिटि जियाये त्यो मृतक् पुत्रलाई ।
अति खुशि भइ लीए पुत्रलाइ उठाई ॥
(१६९)
लागे गर्न पियार पुत्रकन ती राजा र रानी तहाँ ।
दूवै दिव्य शरीरका पनि भए श्रीइन्द्र भन्छन् वहाँ ॥
हेराजन्! तिमिलाई लीन अहिले सम्पूर्ण आञौं अब ।
जाऊँ स्वर्ग विमानमा चढ तिमी छोडेर झंझट् सब ॥
(१७०)
आज्ञा येति सुनी सकीकन तहाँ राजा अगाडी सरी ।
भन्छन् दास म छू यही श्वपचको जाऊँ कसो के गरी ॥
फेरी धर्म अघी सरी कन भने चाण्डाल जो हो म हूँ ।
तिम्रो सत्य बुझेर खुब् खुशि भएँ धेरै कुरा के कहूँ ॥
(१७१)
तेही सत्य सहायले अब तिमी श्रीइन्द्रलोक्मा गई ।
सारा सौख्य पदार्थ भोग गरिल्यौ द्यौता सरीको भई ॥
राजाले इ कुरा सुनीकन तहाँ यो बात भन्दा भए ।
मेरा भक्त प्रजाहरू कति रुनन् मै मात्र एक्लै गए ॥