This page has been proofread
(५६)
दौडी बँदेल सब त्यो फल-फूल बारी ।
नाश्यो सबैतिर घुमि-घुमि लात मारी ॥
लागे धपाउन सबै रखबार आई ।
हा हा! गरे सकल गै उ बँदेललाई ॥
(५७)
झन् उफ्रि धम्किदिइ मानि ताकि धेरै ।
दाह्रा निकालि थुतुन धसि बारबारै ॥
देखि उपद्रव ठुलो रखवार् डराये ।
दौडी गएर नृपमा सब हाल् बताए ॥
(५८)
दूतका बात सुनेर भूप मनमा आश्चर्य मान्दा भये ।
आफैनै गई मार्छु तेस्कन भनी झट्पट् दगुर्दै गये ॥
छाडे बाण छिटो बँदेल कन ता लागेन उफ्रीगयो ।
चम्केको बिजुली सरी भइ छिटो भागी विपत्ता भयो ॥
(५९)
घोडामा चढि झट् गये पछिलिई धेरै सिपाही तहाँ ।
ठूला झाडि महाँ पुगेर छलिए कोही रहेनन् वहाँ ॥
बाटो बिर्सि यताउती घुमिरहे मीले अगाडि मुनी ।
विश्वामित्र ऋषी भुलाउन भनी थीये डुलेका अनी ॥