(५२)
योटी सुन्दर रुपकी उ अबला रोई रहेकी पनी ।
राजा गर्न शिकार तेहि वनमा घुम्दै पुगेछन् अनी ॥
सोधे सत्य दया लिएर मनमा को हौ नि हे सुन्दरि ।
कस्ले दुःखदियो र यो वनमहाँ रुन्छ्यौ तिमी यो घरी ॥
(५३)
प्रश्रै येति सुनी सकी नृपतिको नारी अगाडी सरी ।
लागी भन्न सबै कुरा ऋषि यहाँ बस्छन् तपस्या गरी ॥
मेरा आश्रमका नजीक तँ नबस् बिग्रन्छ मेरो तप ।
भन्छन् दुःखदिई मलाइ दिनदिन् काहाँ मजाऊँ अब ॥
(५४)
राजाले यति बात् सुनेर ति उपर् लागेर ठूलो दया ।
दौडी आश्रममा गएर ऋषिथ्यैं यो बात भन्दाभया ॥
हे ब्रह्मन्! तप छोडिदेउ अहिले मन्मा भएको जती ।
दिन्छू यो तपले सबै वरिपरी बाधा भयो धेर् अती ॥
(५५)
राजा येति भनी फिरे घरमहाँ पाए निहूँ यो पनी ।
ताहीं कौशिकले गरे छल फिरी अत्यन्त क्रोधी बनी ॥
मायाले गरि एक् बँदेल बलियो ताहाँ बनाई अनी ।
राजाको फुलवारि नाशन भनी जल्दी पठाए पनी ॥
Page:Satya harihschandra katha.pdf/17
Appearance
This page has been proofread
