This page has been proofread
डाँफेका आँगमा इन्द्रेणी
वनदेवीले छिपेको ।
फूलले लाउँछन् यारिन् रे !
सपनाले तारावन–
बाट रुँदै टिपेको ।
(९)
हिमाल दरबार जून[1] रानी
पुरुष हेरी गल्छिन् हे ।
पन्ध्र दिनलाई गलेर
एक दिन सुती फुल्छिन् रे !
राम्रा आइमाई अनि त
हेर्दै गोल गोल बन्छिन् रे ।
(१०)
तर होस् ह्लासा सुन सुनको
सुनको भेडा सुन ऊनको ।
लूनीलाई कठै ! आँसु छ ।
विषको वनमा गए झैँ
सिक्सिक् लाग्दो मासु छ ॥
(११)
मखमल गद्दी नीलोमा
सुनका प्याला भर्दछन् ॥
चामर डोलाई केटीले
गुलाफ अत्तर छर्दछन् ॥
- ↑ चन्द्रमा