Jump to content

Page:Luni.pdf/18

From Nepali Proofreaders
This page has been proofread

(४)
बुद्ध मूर्ति जिउँदो आकार सुनको राम्रो सिँगारी ।
फूलैफूलको रथमा हाली सेर्पा लग्छन्‌ घिसारी ॥
मूर्ति छुने आइमाई पाउँछ भन्छन्‌ आफ्नो दिल-इच्छा ।
आजको दिनमा हुन्छ भन्छन्‌ पाप धर्म परीक्षा ॥

(९)
सेर्पा साम्बा सोङ्गो बस्छ रथको आज अगाडि ।
खेल र कूद घोडदौड चल्छन्‌ बाँझको रूखपछाडि ॥
हेलम्बूकी रानी लूनी सिँगार-सुन्दर मखमलमा ।
सल्लाघारीमुनि बस्छिन्‌ सुन्दरीको टहलमा ॥

(६)
सारा सेर्पा जित्ने आज चाङना नामको ठिटो भो ।
अग्लो गोरो राम्रो सेर्पा घोडादौडमा छिटो भो ॥
कुश्ती खेल्दा राङजालाई धोबीपाटले पछार्‍यो ।
बुद्धको रथ दुवै हातले तानी एक्लै घिसार्‍यो ॥

(७)
काँढमा उसले बैँसको हाँगो एकैचोटि चिर्दामा ।
आश्चर्यको रङ्ग छायो हेर्न सबका पर्दामा ॥
उसले कम्बर भाँची नाच्दा सबैभन्दा राम्रो भो ।
सेर्पा राङजाभन्दा बढी सेर्पा चाङना हाम्रो भो ॥

(८)
बीस वर्षको गोरो ठिटो डालडिलको क्या राम्रो ।
सेर्पा हेलम्बूको शहरभन्दा चाङना यो हाम्रो ॥
कालो कपास निधारबाट मन्टो हल्लाई फेक्दछ ।
एउटा हातले पसीना पुछी कपाल सम्याइराख्दछ ॥