Jump to content

Page:Luni.pdf/17

From Nepali Proofreaders
This page has been proofread
(ग)

(१)
आज वैशाख पूर्णिमाको 'मारदौन'[1] भन्ने उत्सव छ ।
सारा सेर्पा हेलम्बू नै हेर्न आज उत्सुक छ ॥
स्यावा मैदान मखमल-हरा चारैतिर घेरिन्छ ।
आइमाई बच्चो ठिटो बूढो जवान सारा वैरिन्छ ॥

(२)
कुश्ती तरबार ढालको लडाइँ काँढको वर्षा देखिन्छ ।
छिटो घोडा चढ्ने पट्ठो मुजूर कल्की पहिरल्छ ॥
राक्षस जस्ता मारका मूर्ति मारमुङ्ग्रीले लड्दछन्‌ ।
आज स्यावा मैदानमाथि जोडतोड गर्ने भिड्दछन्‌ ॥

(३)
घोडेजात्रा के रमाइलो नेपालको चउरमा ?
आज हेर ! सेर्पा संसार घाम लागेको प्रहरमा ।
बाँसुरीले ह्लामा नाच्छन्‌, धूँ धूँ पार्छन्‌ तुरही ॥
हार्नेलाई कालो मुसो जित्नेलाई फूल हाँगो
के नाच्ला है सेर्पा जस्तो ।
आज पर्वतको छाँगो ?

  1. एक काल्पनिक जात्रा tournament जस्तो मानो मार दमन भन्ने बौद्धिक
    शब्दको विकृति जस्तो झल्काइएको छ ।