This page has been proofread
(९)
तेर्सो पारी भिरेको छ बोक्रे दापमा खुकरी ।
कम्बल कोट र कट्टु लाउँछ दुश्मन शिरको टुकुरी ॥
गरीब घरको सादा पोशाक बिहानलाई बादल झैँ ।
कस्तो राम्रो अनुहारमा सुहाएको मखमल झैँ ॥
(१०)
फूलको हाँगा ल्याई उसको हातमा राखी कराए ।
मुजूर कल्की घालू टोपी माथि चढाई लगाए ॥
सेर्पा चाङना गुलाफ जस्तो गाला दुईमा फुल्दछ ।
हेलम्बूकी रानी लूनी नजर त्यसमा झुल्दछ ॥
(११)
आज बाला हेलम्बूमा नौनी चम्री गाईका ।
सेता झिलमिल झिलमिल बत्ती, 'मारदौन' मनाऊ गायिका ॥
हातेमालो सेर्पा[1] स्यावा घर घर आज घुम्नेछ ।
सेर्पा चाङना हेलम्बूको लोङ्गु दरबार पुग्नेछ ॥
(१२)
हेलम्बूकी रानी लूनी उनकी आमा हेलम्बा ।
गुँथेकी छन् माला उनले रङ्गीचङ्गी फूलथुँगा ॥
आज उनको पयर छोई सेर्पा चाङना पाउनेछ ।
माला, मिनाज, सुनको थैलो सांवा कीर्ति गाउनेछ ॥
- ↑ तामाङ नृत्य