खालि ऐना हुन्छ, जहाँ आफू जिउँदैन; तर टक दिन्छ, आफू लेख्तैन तर फोटो खिच्तछ । अक्सर यथार्थवादीहरू साना कक्षाका कलाकार हुन् भन्नेजस्तो लाग्दछ तर जीवन पनि असीम अर्थ र सूचनाले भरिएको हुनाले सच्चा आँखादार यथार्थवादी ठूलो कलाकार हुँदैन भन्न असजिलो कुरा छ । तैपनि उल्था र सोझो उतारी कलाको दर्जामनितिर रहेका छन् र बोक्रे चित्रणमा वस्तुको भित्री आत्मा बोल्दैन । अनुकरणबाट बच्नै पर्दछ नत्र प्रकृति र जीवनले पनि हँस्सी उडाउँछन् । चुनौती चातुरी, झल्का टिप्ने आँखा, अन्त:सम्बन्ध होश गर्ने भावुकता, मुटुको धड्कन छाम्ने हात, भित्री ध्वनि सुन्ने कानविनाका सर्वसाधारण चित्रकारीहरू फूललाई फूल मात्रै देख्तछन् र त्यसभन्दा बढ्ता केही भेट्टाउँदैनन् । उनीहरू मोटा रङ्ग भन्दछन्; रङ्गको मिहीन बाँडफाँड जसका सच्चा जादू छ, त्यो भेट्टाउन सके परब्रह्मबाट धेरै टाढा मानवआत्मा रहँदैन । हरेक चीजमा रहस्यको मात्रा नदेख्ने यथार्थवादी बोक्रे हो । जीवन भन्नु सर्वसाधारण चेतको सांसारिक बोक्रेपन होइन, तर सत्य र रहस्य मिलेको त्यो सासफेर्दो चीज हो, जो सच्चा कलाले देखाउँछ । उच्चतर जीवनको प्रदर्शन कला हो भन्नु शायद सत्यनजीकै आउन सक्तछ । तर जीवन एउटा अस्पष्ट शब्द हो ।
आखिरमा हामी यत्ति आलोचना गर्न चाहन्छौं कि कला र जीवनमा अहार्य सम्बन्ध छ र बोक्रे सतहको जीवनसँग सम्बन्ध थोरै देखाए पनि कलामा उच्चतर जीवनको चित्रण पाइन्छ । कलाको आत्मसमर्थन जीवनलाई उचाल्नु र भर्नुमा छ; र आनन्द दिनु र हृदयकेन्द्रलाई छोएर उच्च बोधद्वारा नैतिक शिक्षण बन्न जानु उच्च कलाको लक्षण हो । हामी कल्पनालाई जसरी जीवनबाट छुट्टयाउन सक्तैनौं तर हरहमेशा कल्पनाको पोषणद्वारा पुष्टि दिन्छौं त्यस्तै कलाको जीवनबाट बिलकुल विच्छेद गर्न सक्तैनौं, कलामा मनुष्य आफ्नो अत्युत्तम अवस्थामा देखा पर्दछ, आफ्नो जीवनको सारांश झल्काउँछ र आफ्नो घामपानीको हिस्साबाट फुलेका चीजहरूबाट सुगन्ध फैलाउँछ। व्यक्तित्वविना कलाकार हुनु, सिर्जनात्मक कल्पनाविना रचयिता हुनु, दुवै असम्भव कुरा छन्; र जहाँ मेरो रचना कलाको दर्जा पाउँछन्, त्यहाँ जीवन आफ्नै रहस्यचेती भावहरूको ऐंडीमा आत्मप्रकाशन लिंदै गद्गदाएर दुनियाँको भविष्यसँग बोल्दछ । त्यस्तै कुनै जातिका जीवनको अध्ययन गर्नलाई मलाई त्यस