या परिणति, यसभन्दा ज्यादा काम प्रकृतिमा देखिंदैन । तर कलाको देशमा ! नव सिर्जन, नव उमङ्ग, नव उच्छवास, सपनाको दौलत र नव- नव सौन्दर्य पाइन्छ । प्रकृतिको अनुकरणमा कला वैलिन्छ, जब म मनको गुलाफ जस्तो लेख्दछु तब कलात्मक सौन्दर्य निस्कन्छ तर जब जीवनको गुलाफ जस्तो लेख्दछु तब म तल्लो कक्षामा ओर्लन्छु, इत्यादि ।' उनीहरू नीति र कलाको सम्बन्धविच्छेद गराउन चाहन्छन् र चाणक्यनीतिलाई सब कविता मान्दैनन्, न त पोपलाई महाकवि ! औपदेशिकता र कलाको आह्वानमा उनीहरू आकाश र जमीनको अन्तर देख्दछन् र भन्दछन् कि कला पवित्र निक्खरा सौन्दर्यात्मक चेतको सन्तोष र आनन्दका निमित्त हो तर चालचलनको काइदाउपर समालोचना छाँट्नु कलाको कर्तव्यको बेबूझ हो । उनीहरू कलामा उच्चतर जीवन पाइन्छ भन्छन्, पार्थिव जीवनको साङ्ग्रो सीमालाई उल्लङ्घन गर्ने; जहाँ देउताहरूसँग सहवास पाउँछ । क्षणमा अनन्तका धिप्का र साना-साना अवकाशमा असीमको नृत्य चाहने कलाकारलाई उनीहरूको मतमा बाह्य जीवनसँग थोरै सम्बन्ध छ र प्रकृतिको अनुकरण या जीवनका याथार्थिक दर्पणका रूपमा निस्कने रचनाहरूलाई उनीहरू तल्लो दर्जाका मान्दछन् । कल्पना, उनका रायमा जीवनभन्दा रसिलो र सत्य सुन्दर छ र काल्पनिक सत्य व्यावहारिक सत्यभन्दा चौडा र प्रकाशिलो देखिन्छ ।
तर अरूहरू भन्दछन् 'कला र जीवन छुट्टिन सक्तैनन् ।' जीवन र प्रकृतिको दर्पण नै कला हो । कल्पना सम्भवको सीमाभित्र काम गर्दछ र जीवनको मुटु छुन नसक्ने कलामा मानव-उपयोगिता देखिन्न । कलाको आत्मसमर्थन जीवनको उल्लासकता जीवन र भावुक उत्थापनमा निर्भर रहन्छ । कलाकार खालि हावामा उडेर रचना गर्दैन तर जीवनका सामग्रीलाई लिएर नव-नव सिर्जना गर्न रङ्ग-रङ्गेली कल्पनाको सहायता लिन्छ । अनि सपनाहरू पनि बिपनासँग सम्बन्ध राख्दछन् र बाह्य तथा आभ्यन्तरिक जगत्को घनिष्ठ अविच्छेद्य सम्बन्ध हरहमेशा रहेकै देखिन्छ, जस्तो शरीर र आत्मा छुट्टयाउन सकिन्न, उस्तै कला र जीवनलाई अलग गराउन सकिन्न । सजीवता नहुनु कलाको दोष हो र जति मात्रामा जीवनको निजी आनन्दको रहस्य उद्घाटन गरेको देखिन्छ उति मात्रामा कलाले उच्चपना लिन्छ । त्यसउपर राष्ट्रिय जीवन कलाद्वारा