Jump to content

Page:Laxmi nibandhasangraha.pdf/91

From Nepali Proofreaders
This page has been proofread

ओर्लेर मुटुमा चट्ट छोएर बिलाउँछ मानौं बादलको टुक्रामा सूर्यराशि सुनौलिएर बिलाउँदो छ जुन कल्पनाले प्रकृतिका मूल तत्त्वहरू सत्यको झल्कामा पक्रेकी छ, त्यसका प्रकृत र अचेत क्रियामा पनि नव-नव सिर्जन त्यसै बन्दै-बन्दै आउँछन्‌ र विश्वको मुटुमा त्यही कुरा चुभ्छ, जो मुटुको केन्द्रको अनुभव थियो । अनि पछिल्लो गुणको बारेमा जीवनका अनुभवहरू सहानुभौतिक थर्कनले निकाल्न सक्नु अनुभूतिको परिपक्वता र विभिन्नताहरूउपर सूक्ष्म चेत राख्नेको मात्र सामर्थ्यमा छ, र ऊ लबज र रेखाको मुटु छामी टुक्राटुक्राले आकाश थर्काइदिन्छ ।

जीवन र कलामा यही फरक हुन्छ कि जीवन हरबिन्दुमा सुन्दर देखिन्न, कला देखिन्छ । जीवनको सत्य याथार्थिक या व्यावहारिक हुन्छ, कलाको काल्पनिक जीवनमा ज्यादा विवेक काम गर्दछ र हामी रेखागणित र बीजगणित जीवनमा पाठशालाहरूबाट लिएर जान्छौं । तर कलाको क्षेत्रमा ज्यादा कल्पना काम गर्दछ, त्यो सूक्ष्म चेत जो मिहीन सम्बन्धहरूको भित्री होश राख्तछ । जीवनको सौन्दर्यमा आविष्कारको आनन्द हुँदैन, जीवनको सिर्जनामा यान्त्रिकताको आधिक्य देखिन्छ, र हामी हृदयलाई आँसु नखसाली अक्सर छुन सक्तैनौं । कलाले हरहमेशा हृदय छोइरहेछ । जीवन धेरै बोधो छ तर एक कुराबाट एक संसार झल्काउन उसको अक्सर चातुरी देखिंदैन । कला जीवनउपर चढ्दछ, कर्कशताउपर, चिच्याहटउपर, यान्त्रिकताउपर र उसमा 'नवीनताको नव जादू' देखिन्छ । जीवनमा झल्काझिल्की मिल्दछन्‌–टाढाको क्षणका अन्तरमा । तर कला हरहमेशा तिनैले भरिइरहेको छ । तब बहसीले भन्दछ कि जीवन र कलाको कत्रो अन्तर रहेछ ? तर म कलाको कल्पद्रुम जीवनकै जरामा बढेको देख्तछु, जीवन माटो भए पनि फूल पोख्ने त्यही हो, यद्यपि स्वर्गका चिडिया र रंगहरू पनि हाँगामा आऊन्‌ ।

'कला कलाकै निमित्त हो' भन्ने पक्षीहरू जस्ता छन्‌ । अस्कार वाइल्ड भन्दछन्‌ 'कला सपनामनि हिंड्छ; जादूसँग खेल्दछ, नवीनतासँग मित्यारी लाउँदछ र आफ्नो आनन्दमा आफैं मस्त छ । ऊ आफ्नो जगत्‌ आफ्नै निम्ति बनाउँदछ, चिच्याहटी आत्मालाई तृप्ति दिन नसक्ने फुङ्ग परेको धूलो उडेको प्रकृति यान्त्रिकता देखाउँदछ, दोहर्यावट, सिर्जनाको धीमा झल्काझुल्की, एक-दुई अस्त-उदय प्रदर्शन वा जुनेली जादू ! पृथ्वी सबै ठाउँमा राम्री छैनन्‌ । सिर्जिइसकेका कुरामा दोहर्यावट देखाउनु