रेखागणितको विवेकविरुद्ध उच्चतर गणित भन्दछ, अनन्तमा समरेखाहरू भेट गर्दछन् । मगन्ता भनेको बोक्रेपनसँगको सम्बन्धमा हृदयको दूरता जनाउने अतिरेखित शब्द हो । तर यहाँ जीवनको मुटुनेर पुर्याउनु भगुवाको सच्चा अवस्था हुन्छ । यसकारण कला र जीवनको सम्बन्ध छैन भन्नेसँग मेरो वैमनस्य रहन्छ तर म मान्दिनँ कि कला भनेको जीवनको निर्देशन हो, जस्तो कोही कलाकट्टरपन्थीहरू भन्न चाहन्छन; न त म भन्दछु कला जीवनबाट बिलकुल अलग हुन्छ ।
सत्यता, सौन्दर्य, सिर्जना, हृदयस्पर्शिता र सूचनात्मकता यी कलाका मुख्य गुणहरू हुन् । हामीले भनिसक्यौं कि कला कल्पनाको सत्यमा निर्भर रहन्छ, व्यावहारिक या दार्शनिक सत्यसँग यसको अहार्य सम्बन्ध रहेको हँदैन । सत्यता सत्य गुणको नाम हो, जो यथार्थबाट अलि पर गए पनि काल्पनिक क्रियाहरूको सच्चाइ राखेर भित्री सम्बन्धहरूमा सत्यको झल्का खोज्दछ । सौन्दर्य निस्कन्छ सत्यको तीव्र चैतन्यबाट, मानौं सत्य जीवनमा तरलिदै सजीव रूपरेखामा ओर्लिरहेछ । सौन्दर्य रहन्छ अंगसंगति, लयदार मिलाप, झल्कादार दर्शन र सूक्ष्म सम्बन्धहरूको मिहीन होशमा, यो त्यो आत्मकर्षक गुणको नाम हो, जसले सत्यतरफ मानवचेतनालाई बलैसँग पक्रेर लैजान्छ । सिर्जना त्यस मौलिक गुणलाई भनिन्छ जसमा नव-नव रूपहरूको उत्पादन र आभास पाइन्छ र अनाविष्कृतको खोजी र पत्ता लगाइएको आस्वादन मिल्दछ । हृदयस्पर्शिता स्पष्टै छ, आनन्ददायित्वको गुण हो जो केन्द्रमा प्रभाव गर्दछ । 'सूचनात्मकता' म त्यसलाई भन्दछु जसले थोरैमा सानो संसार झल्काइदिन्छ र लबजलाई साधारण अर्थबाट उचालेर सम्बन्धात्मक जादू भर्दछ, कल्पना र स्मृतिबाट तत्सम्बन्धी विषयहरूको झङ्कार निकाल्दछ । यी पाँच गुणविना कुनै चीजलाई कलात्मक सिर्जना भन्न सकिंदैन र जहाँ यी सबै ठीक तबरसँग देखिन्छन्, त्यस रचनालाई अत्युत्तम ठहर्याउनुपर्दछ । हामी जान्दछौं कि सुन्दर-असुन्दरका बीचमा स्वर्ग र नरकका बीचमा हुने सबै कुरा छन् र संसारमा दुई चीजको विरोध हरहमेशा जीवनलाई अकमक्क पार्दै यसका समस्याहरू बनाइरहेछ । यी दुईको भेद जान्नु ज्ञानको टुङ्गो हो र हामी हरहमेशा त्यो भेद बुझ्ने अवस्थामा हुँदैनौं । कोही-कोही क्षण (जब दिव्य अवभास र अनुग्रह पाइन्छ) हामीहरू नबुझिने कुरासँग कुरा गर्दछौं, र सत्य कहाँ-कहाँबाट