Jump to content

Page:Laxmi nibandhasangraha.pdf/89

From Nepali Proofreaders
This page has been proofread

सच्चा पुत्र हौं । पन्तजी र ठाकुरजी 'निराला'का देशमा मानवआत्मा अन्धो छैन, न चीजहरू मूक छन्‌ ।

'माकुराको जालो' देखेर साधारण मनुष्य रमाउँदैन त कोइलीको गानाले वनकालीको बाँदर भंडारखालमा सपना देख्दछ, तर स्विफ्टसाहेबले माकुरा र माउरीको कथा सर्वयुगरोचक कथा बनाइदिए, र लेखनाथ कविजीले 'कोइली' को 'कुहू-कुहू'मा जीवनको क्या भुलभुलाउँदो सुगन्धी आनन्द निकाले ! फूलदान फुट्नु मामुली कुरा हो तर बालकृ्‌ष्णशमशेरको आँखाले हेन सक्नु असाधारण कुरा हो। ज्यापुनीको गानाबाट वर्ड्स्‌वर्थ भए जादू निकाल्थे र यो नेपाली खाल्डो त्यस शब्दले भरिएर गुञ्जायमान हुने थियो । तर तीन सय अप्सरालाई रङ्गीन पोशाक लगाएर बचाए पनि कानो मामालाई न एक सूझ न बूझ मिल्दछ; प्रतिभाको चमत्कार यही छ कि अविदितसँग हाम्रो चिनाजानी गराइदिन्छ, र हामीलाई यही दुनियाँभित्र अर्को आश्चर्य र अर्को मोहनी देखाइदिन्छ । हामीले पनि देखेका थियौं तर हाम्रो भित्री आँखा थिएन, शान्तिको शय्यामा पल्टँदा अँध्यारोले बोलाइहाल्दथ्यो, हामी आँखा चिम्लिहाल्थ्यौं तर त्यो हृदयको नाच हामीले पाएनौं । शेक्सपियर, कालिदासले लेखेको देख्दा चीजहरू नौला र झन्‌ सच्चा भएको लाग्दछ, र पटको चियाबारी दैनिक दृष्टिको चियाबारीभन्दा रमाइलो लाग्दछ । कविको चरो झन्‌ मीठोसँग बोल्दछ, चित्रकारका आलु बडा गजबका स्वादिला हुन्छन्‌ र गायकको कानेखुसी अरूको भन्दा मीठो हुन्छ । मोहनी, माधुर्य र प्रकाश ! त्यहाँ छ सब कुरा । कलाले संशयको द्वार खोल्दछ, घामको उज्यालोले नभेट्टिने केही झल्काइदिन्छ, खँदिलो नभएको कुरा छमाइदिन्छ; ढुङ्गा सपना बनाइदिन्छ र हावाको सन्देश सुनाइदिन्छ ।

म भाग्न पनि पाउँछु, र म नजीक पनि पुग्दछु । जति दौडायो, उति ठेगानामा राख्तछ । कलालाई मधुर मगन्ती सम्झने पनि छन्‌, र म खालि एकोहोरो दृष्टिले हेर्दिनँ । एकतर्फ कर्कशता र अन्धोपन र चिच्याहटबाट म बच्न पाउँछ, अविदितको देशमा विहार गर्दछु विदितको परदेशीयता पाउँदछ र ग्राह्यको सम्बन्धमा अग्राह्यसँग नाता जोड्दछु । तर मेरा बादलकिल्लामा खालि मगन्ती मात्र छैन तर जीवनको घनिष्ठ मोहनी पनि देख्ता आत्मा विरोधी छ, तर विरोधका दुई विपक्ष यहाँ आएर अनौठा तवरसँग जुट्तछन्‌ । किनकि कलाले अनन्तलाई छन्छ र