आवरण छ हामीमाथि धूवाँको ढकनी । आँखा पखाल्नुपर्छ, कान माझ्नु र हृदयलाई किचिएको बालक झैं घुरानबाट निकाल्नुपर्छ ।
यस विषयमा हामी भन्न सक्तछौं कि दुई किसिमका क्रियाहरू साथसाथ चलिरहेका हुन्छन्, जसको सम्बन्धलाई 'मौन सहानुभूति' भन्ने वर्डस्वर्थले 'लुसी' कवितामा नाम दिन्छन् । संसार बोल्दैन भन्ने बहिरा हुन्, र पहाडहरू र रूखहरू र ताराहरूमा जीव छैन भन्ने मुर्दा हुन् । सच्चा दार्शनिक भन्दछ, ढुङ्गामा पनि त्यही सच्चिदानन्द चैतन्य रहेकै छ, तर जीवनको कक्षामन्तिर, जसले आकाश बोलेको सुनेकै छैन, बादल भएको वेलामा मात्र होइन, सूनसानमा पनि त्यसले हाम्रो हृदय डस्न कलम नै नउठाऔस् । तब यी दुई किसिमका क्रियामध्ये एक चीजहरू बोल्नु झल्कनु र आफ्नो हृदय खोलेर देखाउने क्रिया हो, अर्को मानवहृदयले र कत्पनाले तिनीहरूमा आफ्ना अन्तस्करणसम्बन्धी रङ्ग र रोगन हालिदिनु हो, जसका प्रभावमा तिनीहरू घनिष्ठता लिएर व्यक्तिगत जीवनलाई सन्देश दिन्छन् ! प्रभाले चिरपरिचितसँग नव परिचयको आनन्द लिन्छ र यो नवीन पहिचानमा चीजहरू चीज लिएर भेट गर्न आउँछन् ! कविको हृदयअगाडि ढुङ्गा बोल्दछ र पातमा जिभ्रा हुन्छन् ! साधारणमा कल्पनाको मिहीन सूत भएको जादू-जालीले नौलोपन डाल्दछ र सच्चा क्षणमा कलम चरो भएर गीत गाउँदछ । आमाको फोटो शैशवको ढुकढुकाउँदो संसार बन्दछ, र दर्शनढुङ्गा फूल झैं फुलेर ओठ हाल्दछ, मानौ बोल्नाको प्रयासमा । सरस्वतीसँग त्यस वेला बोल्दछु, जब मलाई उनी सजीव सत्य बन्दछिन्, म्लेच्छ कल्पना भनेको त्यही हो, जो हाम्रा देवदेवताहरूसँग न सहवास पाउँछ, न संभाषण ! पशुपतिको ढोका सधैं म्लेच्छउपर बन्दै छ र सोमनाथलाई फोरेर महम्मद गजनीले केही दौलत पाएनन् । हावामा र जलमा ईश्वर नबोल्नु पाश्चात्य सभ्यताको असर हो र हामी बहसभन्दा तीव्र निश्चयसँग भन्दछौं कि इङ्गलिस्तानका कला र साहित्य भारतभन्दा त्यति मात्रामा तल छन्, जति मात्रामा अंग्रेजहरू सूर्यमा ईश्वर देख्तैनन् र पहाडमा देवता ! अरू जति खालि ईश्वर छ भन्ने अस्पष्ट चैतन्यमा अविदितको होश दिव्य वाणी र धर्मपुस्तक मात्र हुन् । तर म हिन्दू हुनाले छायासँग कुरा गर्छु, मलाई दृश्यजगत् भित्रको प्रकाशन मात्र हो र सब खँदिला वस्तु तरल पदार्थ हुन् । देवताहरूले वास गरिएको त्यो भरिलो जगत्मा हामी वास गर्दछौं जो भारतका