नव प्राप्ति गर्दछ, जहाँ अन्धसंसार चतुर आँखालाई कुनै खँदिलो सत्य हुँदैन । कति जना वृक्षका छायामा सुतेर आनन्द अनुभव गर्दै आइरहेछन् तर कति थोरैले त्यसमा अलौकिक सूचना, त्यो मिठास, त्यो जीवनको रहस्योद्घाटक सूक्ष्मभाव पाइरहेछन् । ती मिर्मिरे भावनाहरूको सत्य जो प्रकाश र अन्धकारको बीचमा रहन पाए होलान्, जो पन्तजीको 'छाया' नामक जादू जस्तो कवितामा पाइन्छ, कतिले टुहुरालाई भेटे होलान् तर टुहुराको आत्मा उघारेर देखाउन 'रतन'-का दादालाई मात्र थियो । कति आकाश देखिरहेछन् तर रस्किन साहेबको 'आकाश' नामक प्रबन्धमा त्यो आकाशको अपरिचित टुना झलमलाउँछ, जो हेर्नेले हेर्दै हेरेन, सुन्नेले सुन्दै सुनेन । मानिसहरू टेबिलमा कवाबको रिकापी लिएर जुगानजुगदेखि स्वाद लिंदै आएका छन्, तर 'रोस्कपिग' नामक ल्याम्बसाहेबको प्रबन्धमा देखिने कलाको हँसिलो सर्वयुगी टुना कसैले त्यसमा देखेनन् । चीजहरू बाहिरी रोगन र झलमलावटले राम्रा हुँदैनन्, जस्तो हनुमान्ले हीराको मालालाई टोकी-टोकी मिल्काएर रामजीलाई बिन्ती गरेथे रे 'यो झिल्के टुक्रामा त 'राम' कहीं पनि पाइनँ !' त्यस्तै कलाको भक्तलाई भित्री मोहनी नभई कनै चीज राम्रो लाग्दैन र बोक्रे बाह्य कराहरूमा केही सौन्दर्य त्यसले पाउन सक्तैन, जो भित्रको झल्का खोज्दछ । तर रामजीको जवाफ यस्तो हुनुपर्ने 'मैले दिएका टुक्राहरूमा म हरेक दानामा झल्किरहेकै थिएँ नि !' बस, परमेश्वर हाम्रो आत्मालाई त्यसै भन्नुहुन्छ । तर हामी वनकर झैं सब चीज मामुली देख्तछौं र हीराहरू झैं मिल्काउँछौँ, तर झल्का र मोहनी पाउने आँखाहरू संसारमा कम हुन्छन् । मनुष्यको हृदयमा झूटो परिचयको अत्याचार छ र उनीहरू बोक्रे सन्तोषले अत्तर-छालामै अड्दछन्, तर कल्पनाशील व्यक्ति बालुवाको दानालाई विश्व पाएर अनन्त समयको विलास देख्तछ र रस्किनसाहेबको नजरमा मकैमा यस्तो मोहनी देखियो कि उहाँ भन्नुहुन्छ, 'ईश्वर र संसार बुझ्नुपरे मकै उम्रिरहेको हेरे पुग्छ ।' वास्तवमा हामीले दुनियाँमा बहुत थोरै कुरा रामरी चिनेका छौं र एउटा कमिला पढ्नुमा तीन सय वर्षको शेभियन् जीवन पाए पनि हामीलाई कम हुने थियो, तर भावुक हृदयलाई चिरसमयको जरूरत छैन, सच्चा अवलोकनमा एक युगको सन्देश मिल्दछ, र सच्चा लक्षणहरू अनन्तका झिल्काजस्ता छन् ! दीर्घ जीवन पाए पनि हामीहरू न तारा देख्दछौं, न आकाश, न वायु, न फूल ।
Page:Laxmi nibandhasangraha.pdf/87
Appearance