Jump to content

Page:Laxmi nibandhasangraha.pdf/86

From Nepali Proofreaders
This page has been proofread

न खालि विवेक या ज्ञानबाट; तर यो निक्लन्छ ती सृक्ष्म चेतहरूबाट, जो पाशविक हेराइको उपर चढेर दिव्यको अनुभूतिले भावुक स्पन्दन पाउँछ । पशु खालि हेर्दछ र सन्तुष्ट रहन्छ, तर मानिस सब चीजको मुटु छाम्न खोज्दछ । उसलाई बाहिरी बुझावटैले सन्तोष दिँदैन, आकृति-सङ्गति र चैतन्य भएको दुनियाँमा ऊ दर्शनले चित्त बुझाउन सक्तैन । आफ्नो मन र बाह्यप्रकृतिमा देखाएका र अनुभव गरिएका कुराहरूको अनन्त र सत्यसँग नाता जोड्न खोज्दछ र तिनलाई मूल कारणका सम्बन्ध र सहयोगमा छाम्न खोज्दछ । विज्ञानले जिज्ञासालाई पूरा गर्न सक्तैन र मानिस भावुक र काल्पनिक जगत्‌का जादूगरीहरूद्वारा यो विज्ञानपरका झल्काहरू खोज्दछ, जहाँ सत्यको नजीक भएझैं मानव-आत्मालाई सन्तोष लाग्दछ । उसलाई उपस्थितउपर चढेर अनुपस्थितका अन्वेषण गर्ने मोहनी हरहमेशा रहेकै छ । उसको चेतले बताउँछ कि रूप-रंगको पछाडि अर्कै रस छ; र रेखा र चित्रहरूपछाडि सूक्ष्म सत्यहरू काम गर्दछन्‌ । ऊ नैसर्गिक र प्राथमिक सम्बन्धहरूको सूक्ष्म क्रिया अध्ययन गर्न चाहन्छ, भावुक र काल्पनिक नजर लगाएर खँदिला वस्तुहरूबाट अग्राह्यको महिमा हेर्न जान्छ, र आफ्नै प्रकृति र बाह्य जगत्‌-प्रदर्शनहरूमा पनि तिनै उपकारको मूल तत्त्वको आभास र सूक्ष्म संकेतहरू छाम्न पुग्दछ । मनुष्यलाई अनन्तको आह्वान छ, र ऊ आफ्नो अनन्तको चेत झल्का र चित्रण र मानव-रचनाहरूद्वारा अरूको नजरमा झल्काउन चाहन्छ । उसलाई आफ्ना सूक्ष्म अनुभवहरू आत्मप्रकाशनको प्रेरणा दिन्छन्‌ र आत्मविस्तारमा त्यही आनन्द पाउँछ, जो स्रष्टाको पहिलो अनुभव हुँदो हो । ऊ सिर्जना गर्न खोज्दछ, प्रकतिलाई टिप्न चाहन्छ; दुनियाँ सुधार्न नवीनताको जादूपछि दौडन्छ, अविदितको आह्वान सुन्दछ, दृश्य र श्रव्यलाई नाघेर अन्तर्झल्का र अन्तर्ध्वनि खोज्दछ । ऊ रूपलाई ध्वनिमा उल्था गर्दछ र शब्दलाई चित्रमा । उसलाई सीमा मन पर्दैन, ऊ उड्न चाहन्छ र टिप्न चाहन्छ, अँध्यारोबाट चियाउन चाहन्छ र स्वर्गको आगो चोर्न चाहन्छ ।

मेरो विचारमा मनुष्यले कलामा अविदितसँगको आफ्नो परिचय झल्काउन चाहन्छ र विदितको दुनियाँमा अपरिचितको राज्य देखाउन खोज्दछ । कति जनाले यस दुनियाँलाई देखे तर यसमा मिहीन सौन्दर्य र गूढ रहस्यहरू उनका आँखामा अन्धकारै बनेका थिए । प्रतिभाले त्यहाँ