उहाँसँग कुरा गरें भन्ने किसिमको चीजलाई म काल्पनिक सत्य सम्झन्छु ! मेरा निमित्त व्यवहार सीमित छ; दर्शन, विवेक अन्धो छ; म काल्पनिक सत्यलाई नै सबभन्दा ज्यादा रुचाउँछु र त्यसैद्वारा ईश्वरको झल्काझिल्की पाउँछु ।
मेरो विचारमा मानवकलाहरू काल्पनिक सत्यमा निर्भर रहन्छन् । खालि व्यवहारको सोझो चित्रण कलाको रूप लिन सक्तैन, न त मेरो रायमा फोटोग्राफी कुनै कला हो, यद्यपि धेरै जना मोटामोटी चीजलाई कलाका नाम चौडा अर्थले दिने गर्दछन्, ती चीजहरू कला नै होइनन् जहाँ यन्त्रहरू मात्र सफल हुन सक्दछन्; जहाँ विवेक मात्र काम गर्दछ; र जहाँ कल्पनाको कारीगरी र सीपको जरूरतै छैन । मानव-रचनाहरू कलानजीक त्यति मात्रामा आउँछन्, जति मात्रामा तिनउपर सिर्जनात्मक कल्पनाको रंगरेखा देखिन्छ र जति मात्रामा हिसाब र विवेकनजीक पुग्दछन् उति यान्त्रिक रचनाहरू बन्दछन् । गणितका सूत्रले हुने कामहरू मगजका काम भए पनि कला भन्न सुहाउँदैनन् । चित्रकारी कला हो, फोटोग्राफी होइन । साधारण टेबिलमा सिकर्मीको काम हुन्छ, कला हुँदैन; तर यदि कुनै सिकर्मीले टेबिललाई एउटा सौन्दर्यको सपना जस्तो पारेर बनायो भने त्यहाँ कलाको प्रादुर्भाव हुन्छ । न त नक्कल गर्नु कला हो, यद्यपि कालिदासको अनुकरण नै होस् ! 'अलङ्कार चन्द्रोदय'को नियममुताबिक बनाइएका कविता यान्त्रिक श्लोक हुन्, तर ती न कला हुन्, न कविता । जब सिर्जनात्मक कल्पना नक्कल गर्नु उतार्नुबाट उपर उठेर आफ्नो नवीन सपना देख्दछे र आफ्नै शैलीले आफ्नो छिना चलाउँछे, त्यहाँ कला निस्कन्छ । न त खालि मौलिकता नै कला हो, यदि काल्पनिक सत्यको सुन्दर क्रिया त्यसमा छैन भने ! सत्य र सुन्दरको सीमाभित्रका रचनाहरूलाई हामी कला भन्दछौं, यदि तिनीहरूमा जीवनको हृदयलाई प्राकृतिक प्रभाव छ भने । न त खालि सपना मात्रै कला हो; किनकि प्रकाशनको क्षेत्रमा नआई सपनाले कलाको रूप धारण गर्दैन ।
कलाको उत्पत्ति मनुष्यको अनन्त चेतको प्रतिभाबाट हुन्छ । पशुको कला हुँदैन, न त जडका ! तर आध्यात्मिक प्रकृतिले सम्पन्न भएको विश्वकलाकारका मिहीन सूचनाहरू सम्झन र थाहा पाउन सक्ने मनुष्यलाई अलिकति दिव्य कारीगरीको अनुकरण गर्ने शक्ति दिइएको छ । कला उत्पादन गर्ने शक्ति खालि वस्तुको बोक्रो दर्शनबाट आउँदैन;