कला र जीवन
कला भनेको सिर्जनात्मक कल्पनाद्वारा सत्यको सुन्दर प्रकाशन हो । निरञ्जन सत्य हाम्रो जीवनको उपर छ र निराकारबाट आकारमा नआउञ्जेल हामीलाई इन्द्रियगोचर हुँदैन । 'एकोऽहं बहु:स्याम'को स्फुरणमा विश्वकला त्यो प्रेमको आधारमा जन्मिई जो ब्रह्माभासमा झलमलाउँदै उठेका अनेक जीवात्मालाई अनन्त मायाश्रयले विस्तारमा विलास दिन चाहन्थ्यो । निराकारमा स्फुरण छ, तर साकारमा कला छ । सिर्जनाको मूल तत्त्व प्रेम हो र प्रेमको मूल क्रिया आनन्द दिनु हो । स्रष्टाको दिव्य प्रतिभामा विश्व जन्मियो र हामी यस रचनाको अध्ययनद्वारा दिव्य चैतन्य, दिव्य सत्य, दिव्य सौन्दर्य र दिव्य ज्ञानका स्पष्ट संकेतहरू पाउँछौं । परमेश्वरको सिर्जनात्मक कल्पना पूर्णतामा काम गर्दछ र ईश्वरीय सत्यलाई सुन्दर रेखा रंगरूपमा प्रकाशन गर्दछ । हामी 'सुन्दर' भन्ने चेत पाउँछौं सत्यको आभासद्वारा र जहाँ सत्य छैन, त्यहाँ सौन्दर्य पनि छैन । कीट्स्ले भनेका छन् कि 'सत्य नै सौन्दर्य हो र सौन्दर्य नै सत्य हो ।' यो ईश्वरको आत्मप्रकाशनरूप कलात्मक सिर्जनामा यस्तो विदित हुन्छ कि सत्य सुन्दर हुँदै इन्द्रियग्राह्य रूपहरूमा ओर्लिरहेछ ।
सत्य पनि धेरै किसिमको हुन्छ, जस्तो– काल्पनिक सत्य, व्यावहारिक सत्य र दार्शनिक सत्य । जुन चीज त्रिकालबाध्य छ, त्यसलाई सत्य भनिन्छ र ईश्वर नै प्रथम र अन्तिम सत्य हुन् । तर व्यवहार- जीवनमा सत्यले धेरै स्वरूप लिन्छ र इन्द्रियगोचर दुनियाँको कडा ग्राह्य सत्यलाई म व्यावहारिक सत्य सम्झन्छु । विवेकको अन्वेषणद्वारा प्राप्त हुने चाहिंलाई दार्शनिक सत्य भन्दछु र मनका सूक्ष्म चित्रणहरूद्वारा झल्किनेलाई काल्पनिक । ढुङ्गा कडा हुन्छन् भन्नु व्यावहारिक सत्य हो, एक-एक जोडे दुई हुन्छ भन्ने र सृष्टिका अस्तित्वद्वारा सष्टाको अस्तित्व छ भन्ने कुरालाई म दार्शनिक सत्य भन्दछु; र सरस्वतीलाई देखेर