Jump to content

Page:Laxmi nibandhasangraha.pdf/83

From Nepali Proofreaders
This page has been proofread

ईश्वरले विलासका सामग्री नदिए पनि विलासका स्वाद र आनन्द दिएको छ । ती कमलमा पातका परिकारहरूलाई अंग-प्रत्यंगको सदुपयोगले मसला दिएको थियो, व्यायामका बाबर्चीले आनन्दको भोजन बनाएको थियो । खाँदा अनेक ठठ्ठा, हास्य, कटाक्ष चले । चिउराको मर्मराहट झर्कोलाग्दो क्रिया बन्न पाउँदैनथ्यो, बीचबीचमा हाँसोले विश्राम पनि दिन्थ्यो, स्वाद पनि बढाउँथ्यो । यिनीहरू नेपाली पहाडरूपी ओलम्पिसका यूनानी देवताहरू थिए । पहाडभित्रबाट तर्किएर आएको पानीलाई बारीको पाटोमा धारोद्वारा सानो उज्यालो रेखामा गिराइएको थियो । त्यही यिनीहरूको तिर्खालाई शीतल अमृतको धारा थियो ।

फेरि उनीहरू काममा लागे । हामीहरूले धेरै बेर हेरिरह्यैं, सुनिरह्यौं । आकाशमा बादल बाक्लिएर आयो, दुई-चार थोपा गिर्यो, झन्‌ अँध्यारो भयो र घनघोर वर्षा आयो । हामीहरूले छाता लगेका थिएनौं । पहिले त दौडेर भाग्ने विचार गर्यौं तर वर्षाले छोपिहाल्यो, रुजाइहाल्यो । दगुर्नुमा केही बचावट थिएन। हामी सुस्त-सुस्त घरतर्फ लाग्यौं । खेतमा उनीहरू भने झन्‌ खुशीले रोपाइँ गरिरहेका थिए । अलि टाढाबाट हामीहरूले सुन्यौं:-

'रोपाइँको वेला, बिजुली चम्क्यो, झरीले गीत गायो, बादलको तल खोला है उफ्र्यो, दिल मेरो नचायो । आजको राम्रो यो हिले बुट्टा चोलीमा छिपेको, आज र हाँस्यो, आज र गायो । भोलि ता कठै ! को रुन्छ देखी कालले टिपेको !'

हामीहरूका लुगा पनि लफलफाउँदा भए, हिलैले पनि रङ्गिए । हामीहरूलाई पनि आजको आषाढको पन्ध्रको उत्सव राम्रोसँग मनाएजस्तो लाग्यो । हामी पनि आज रोपाइँ गरेर सडकमा आएका थियौं । जब म घरभित्र पसे, मलाई विचित्र आनन्द अनुभव भयो, घरमा मुसुमुसु हाँसो चलेको थियो ।मैले भनें, 'आज आषाढको पन्ध्र हो ।'