मानिसलाई पनि जब उत्तेजित भावले छुन्छ, तब तिनीहरूका उच्चारणमा विचित्र रसको प्रादुर्भाव हुन्छ । मानिसका रुवाइमा सधैं कविता हुन्छ, त्यस्तै सच्चा उल्लासमा । हामी कविता बनाउन चाहन्छौं, निकाल्न चाहँदैनौं । यिनीहरू बनाउँदैनन्, भित्रैबाट झिक्तछन् । हाम्रो शब्दको चातुरी छ, यिनको भावको माधुरी । जडाउरी शब्दका माला गाँस्ने कविहरू मसँग आषाढको पन्धमा आऊन् । चर्को कृत्रिम रङ्ग चढाउन खोज्नेलाई पनि, मेरो निमन्त्रणा छ । म दही-चिउरा खुवाउन चाहन्नँ, गीत सुनाउन चाहन्छु ।
हाम्रो तलतिर रोपाइँ पनि चलिरहेको थियो, केही खेलबहाड पनि । साथसाधमा एउटीले अर्कीलाई अलिकति हातको हिलो छ्यापिदिइन् । आजको दिन हिलो छ्याप्नु पनि प्रेम र आनन्दको बहाड सम्झिइन्छ । हिलोका छिर्का र बुट्टाहरू आजलाई ग्रामीण युवतीका वस्त्र र वदन दुवैको सुन्दर शृङ्गार छन् । प्रेम र खुशियालीको हिलो, द्वेष र ईर्ष्याको दाग जस्तो देखिँदैन । किसानका ठिटाहरूका निधारमा पृथ्वीले आशीर्वादको टीका लगाइदिएजस्तो भान पर्दछ । मानिसको प्राणलाई वर्ष दिनको थमौती मिल्दछ । आलीका केही हरिया झरीहरू एउटीको केशमा लगाइन्छन्, केही धानका हरिया बीउहरू अर्कीको कपालमा चढाइन्छन् । कसैले असारेका राता फूल सिउरेका छन् । कसैले एक-दुई मकैको कलिलो चमर पनि । यहाँ जीवनको मनोहर दृश्य छ ।
जब खाजा खाने वेला भएको थियो, खेतको किनारामा प्रकृतिका हातबाट बान्किला भएर बनेका कमलका हरिया बाटुला थलियाहरू बिछाइए । केही चिउरा र नून, अदुवाका सितन साथमा अलिकति आलुको तरकारी पनि राखिएको थियो । सब आएर ठाउँ-ठाउँमा शिष्टाचारका नियम र कानूनको आविष्कार हनुभन्दा अगाडिको युगमा बसेझैं बसे । मनमस्ती चालले खाजा खान थाले । यस्तो देखिन्थ्यो मानौं यिनीहरूले अलकापुरीका व्यञ्जनका स्वादमा दुनियाँलाई आधा घण्टासम्म बिर्सिरहेका थिए । परिश्रमले हद से हद खस्रा, रूखा खानामा पनि विचित्र स्वाद दिंदो रहेछ, अपूर्व माधुरी भर्दो रहेछ । हामी स्वाद बाहिर खोज्दछौं, यिनीहरू भित्रैबाट निकाल्दछन् । हामी मसलामाथि सुगन्ध थप्तछौं र कलेजामाथि अत्याचार गर्दछौं । यिनीहरूको खस्रो चिउराको मर्मराहटमा परिश्रमी जीवनको विचित्र आनन्द देखिन्थ्यो । गरीबलाई