Jump to content

Page:Laxmi nibandhasangraha.pdf/81

From Nepali Proofreaders
This page has been proofread

केही उल्लास मिल्दथ्यो । हाम्रो सर्वप्राथमिक प्रयासमा पनि यही रोपाइँको सादृश्य र सौन्दर्य थियो । हामी आज रोपाइँको पहिलो सहज दर्शन गरिरहेछौं । आषाढको पन्ध्र शहरको पनि सुस्वागत पाहुना छ ।

यही निमन्त्रणा पाएर एक जना मित्रका साथमा म पनि आजको दिनको विलास उपभोग गर्न बाहिर हिंडें, चार गारो र छानाले ढाकेको साङ्ग्रो जीवनलाई चौडा आकाशमनि तथा खुल्ला हावामा फैलिने अवकाश मिल्दछ, म यही विचारको मधुर चैतन्यले बाहिर हिंडें । कुनै विशेष उद्देश्य थिएन । कुनै ठाउँमा जाने ताकले खुट्टाको चाललाई बाँधेको थिएन । बाटामा एक परिचित व्यक्तिले सोधे, 'कता जान लाग्नुभयो ?' मैले उत्तर दिएँ, 'कता, कता ।' 'कता कता' को 'ता' मा लामो दूरतादर्शक प्लट थियो । भ्रमण गर्दा-गर्दा हामी कुनै ठाउँमा पुग्यौं, जसलाई प्रचलित नाम दिएर म मेरो अनुभवको मोहनी पाठकबाट उडाउन चाहन्नँ । हामी उच्चा जग्गामा बस्यौं । पूर्वका डाँडा हरिया भएका थिए, तिनका नीलो चेहरा विचित्र अस्पष्टताको मोहनी थियो । बादलको छरिएका टुक्रामा बीचबाट सूर्य भगवान्‌को उज्यालोले दृश्यपटलाई टाटापाटा गराएको थियो । दूरवर्ती पहाड पाटा-पाटामा घामले छोएर हरियालीको सौन्दर्य देखिन्थ्यो, फेरि छाया पर्दथ्यो र उही नीलो अस्पष्टताको मोहनीतलतिर रोपाइँ चलिरहेको थियो । निहरिएका ग्रामीण युवतीहरू मूगाका मालालाई चचहुई खेलाउँदै बीउ रोपिरहेका थिए, गीत गाइरहेका थिए । अर्कोतर्फ किसान युवकहरू पनि सोही काममा लागेर परत्युत्तर दिइरहेका थिए । अलि टाढा दुइटा झोपडी शान्तिका कुटी झैं सफा आँगन लिएर निदाएका झैं देखिन्थे ।

यहाँ गाना थियो, कविता थियो । आशुकविहरूको कलम त्यत्तिको छिटो चल्न सक्तैनथ्यो, जत्तिको यिनका जिभ्राको सरस्वती । एकतर्फ प्रश्न उठ्थ्यो, अर्कोतर्फ तत्काल उचित जवाफ आउँथ्यो, फेरि लयदार सुरिलो छन्दमा । यस्तो विदित हुन्थ्यो, मानौं 'शारदा'-का कविताहरू त छन्दका कठिन कसरत मात्र हुन्‌ । त्यहाँ अटूट प्रवाह थियो, भुलभुलावट थियो, जो त्यस पत्रिका आउने जमेका साह्रा टुक्राहरूमा देखिन्न । तिनको आवाज सुन्दा त अलङ्कार, अनुप्रास, उपमाका बोझाहरू कविताका गलफन्द मात्र हुन्‌ भन्ने लाग्दथ्यो । यिनमा त्यो सरल माधुर्य थियो जो भावको भाषामा मात्र हुन्छ, विचारका भाषामा पाइन्न । सर्वसाधारण