Jump to content

Page:Laxmi nibandhasangraha.pdf/69

From Nepali Proofreaders
This page has been proofread

मन लाग्दो हो। म यो मट्टीधूसर जीवनसँग तिनीहरूलाई हरहमेशा दाँजिरहेको हुँदो हुँ ।

नेपाली माटोमा किरण त्यहाँ झर्यो, बीउ त्यहाँ रोपियो र सुगन्ध त्यहाँ फुल्यो, जहाँ तिनीहरू जीवनको गुलाबी लाली पोख्तछन्‌; तिनका बास्नाहरू हावाले दूरतासम्म पुर्याएर अरूहरूलाई फुल्नको प्रेरणा गर्दछन्‌ ।

छिः ! मलाई बराबर लाग्दछ, यो के जीवन ? माटो मुसारेझैं, आँखा बन्द गरेर मुख उघारेझैं सिंगानेले र्यालधूसरता ! यहाँ के छ ? मेरो आत्मा त्यहाँ खोज्छ केही खँदिलो कुरा, जहाँ तिनीहरू बसेका छन्‌ । म अविदितको यात्रामा जान चाहन्छु । स्वर्गको फिलिङ्गो चोर्न चाहन्छु ! महको माखा हुन चाहन्नँ ।