भलादमी
विकासको सिद्धान्तअनुसार कुनै जाति ओह्वालो लागिरहेछन्, कोही उकालो लागिरहेछन् । कसैलाई खिइनु छ, कसैलाई फुल्नु र फैलनु छ । व्यासजीको सिंह आजकलको भारतवर्षमा गर्जन गर्दैन । बाघको हुकूम चलिरहेछ । त्यस्तै भाषाको देशमा लवजको दशा हुन्छ । कोही-कोही शब्दहरू दुब्ला-पातला भएका छन्, तिनीहरूको प्राचीन महत्त्व उडेको छ। ज्यादा पुरानो टकमा खिया लाग्दछ । 'पण्डित' र गुरु भन्ने लवजमा केही फिक्कापन चढ्न लागेको छ । त्यस्तै 'भलादमी' भन्ने शब्दमा पनि अर्थको यति अप्रभ्रंश भएको छ कि भलादमीपनले भडक र पोशाकसँग नाता जोडिसक्यो । भलादमीपन हृदयबाट बाहिर निस्केर शरीरउपर विज्ञापन छाप्न लाग्यो । खाँडी र कोराले अब भलादमी बन्न सक्तैनन्: घरबुने भलादमीलाई पनि यस युगले बागमतीमा सेलाइसक्यो । चरित्रका भलादमी अतीतका अँघ्यारा कोठरीमा छन्, रङ्ग र रेशमका भलादमी काठमाडौंका गल्लीमा खुश्बू उडाइरहेछन् । जमाना रङ्ग बदलन्छ ।
नोटको भाउ बढेको भए तापनि आजकल भलादमीपन सस्तो मोलमा पाइन्छ । भलादमीपनलाई सूचीकार र मारवाडीले बिक्री गरिरहेछन् । तिमी भलादमी बन्न चाहन्छौ भने सीधा-साधा मानिसको कोरापनलाई दर्जीकहाँ गएर काट-छाँट गरिमाग । दुई-चार रुपियाँ बढाइदेऊ, तब तिमी कुँदिएको पानीदार हीरा बन्दछौ, छाँट मिलेको कोट पहिरेर, एक छरितो छडी घुमाएर, सडकमा टल्कने जुत्ताको चुरुम- चुरुम आवाजमा फुर्तिलो कदम बढाउ: तब गल्लीको कुकुरले पनि तिमीलाई चिन्दछ । तिम्रो भलादमीपन स्वीकार गरेर तिमीउपर भुक्न आउँदैन । चोरीको शङ्काले सम्बोधन गर्नु भलादमीको अपमान हो भन्ने उसले पनि जानेको छ । सफलता जस्तो हौसला दिने केही छैन । तिमी झन् फुर्तिलो कदम बढाउँछौ । समाजमा तिम्रो भलादमीपनलाई 'हजूर'