Jump to content

Page:Laxmi nibandhasangraha.pdf/68

From Nepali Proofreaders
This page has been proofread

अमृत चाख्यो ! अनि हेर, दुई सय कडोरका आँखा आश्चर्यमा टुल्टुलाएँ । ऊ मान्छेभन्दा कति माथि एक निमेषको पखेटामा उड्दछ ।

हामी ऋणमा डुबिरहेछौं । दूधको भारा तिर्ने हिचकिचाउनु कातरता हो ! के तिमीलाई विश्वास छैन कि तिमी माटो होइनौ ? के अनन्त साठी वर्षको रालसिंगानभन्दा पर छैन ? उताको अनन्तता यताको बोक्रे झोक्राइमा खेर फाल्नु ! डुब नानी ! गहिराइले अतासिने मोतीहरूबाट वञ्चित छन्‌ । तर हाय ! एक अनन्तको भझिलिमिलीले मलाई यतातिर तान्दछ ! म उठ्नु एक विशाल मायाजालबाट मुक्ति पाउनु छ ! कातर आत्मा मान्दैन ! भोलिको पर्सिको होश नहुनु नै पार्थिवता हो । टाढाको नहुनु नै मेरो अन्धता हो । म खुम्चिन्छु । कम रोकावटको पथमा हार खाएर भागिरहन्छु । नजीकका क्षणहरू लोलाइरहन्छन्‌ र क्षणलाई अनन्तको सर्वस्व सुम्पँदै त्रास र विकम्मापन साटेर दीनताको प्रदर्शनी देखाउँछु !

म किन झल्किनँ ? के वीरलाई परमेश्वरले सुनौला मौका पठाइदिएका हुन्छन्‌ ? होइन, आत्माले मौका त्यहाँ पाउँछ जहाँ यसको भावना सँग्लिएर अनन्तको प्रतिबिम्ब धारण गर्छ । परमेश्वरले नदिएको होइन ! मेरो स्वार्थले सबै क्षणहरू फुस्रो, धुस्रो बनाएको र तिनका टुनामा ध्वाँसो हालेको हो । के अस्ति भैंचालो गएन !के एउटा केटाकेटी एक घरको भग्नावशेष पनि रोइरहेको थिएन ? मैले ती सुन्दर क्षणका आवाजहरू पर पन्साउँदै लोलुपताको वधिरता ग्रहण गर्ने राह लिएको थिएँ । के त्यो दिन आत्मा मसँग पुकार गरिरहेको थिएन ? त्यो पेटको भोको र आशाले वञ्चित ! मसँग घन थियो । ममा आत्मबल थिएन । ज्यान दिनुभन्दा सर्वस्व दिन्‌ ठूलो कुरो हो र मलाई घीनलाग्दो लोलुपताले अघि सर्न दिएन ! अस्ति मात्र मैले फोस्रो इज्जतका निम्ति झूटो बोलें ! ममा वीरको ताज लगाउने जोश थिएन । म सत्यका निम्ति कति कम दान गर्न सक्तछु–सत्तरी रुपियाँको जागीर जाला भन्नेमा सत्तरी हजार नसा काँप्तछन्‌ ! समाजको अन्धता खप्नुभन्दा सत्यको घाँटी रेट्न मलाई सजिलो लाग्छ र म मेरो आत्मासँग झूटो बोल्छु र दुनियाँसँग सच्चाइको सच्चरित्रताको दावा राख्तछु । अनि मेरो मुटु किन नकाँपोस्‌ ?

मलाई रुनै मन लाग्छ, कहाँ-कहाँबाट आँसु भुलभुलाएर आउँदछन्‌, जब म आफ्ना स्वदेशका वीरहरूको नाम सम्झन्छु । मलाई त्यस्तै हुन