Jump to content

Page:Laxmi nibandhasangraha.pdf/67

From Nepali Proofreaders
This page has been proofread

वीरहरू

तिनीहरूका पङ्ख थिए । अरू मान्छे घस्रिएर बसे । तिनीहरूको हृदयमा बिजुली थियो, देशको तुसारोले भझिलिक्क झिल्केर उठ्यो । अरूहरू काँपे । तिनीहरू पोस्तछन्‌ स्वर्गबाट–जहाँ तिनका हातमा अप्सराहरू अमृतका प्याला चढाएर पर्खिरहन्छन्‌ । अरूहरूले माटो खेती गरे । तिनीहरूले हामीहरूलाई आफू सम्झेर आफूलाई हराइरहेछन्‌ ।

दुनियाँ तिनलाई आँसु लिएर युग-युगसम्म सम्झँदै रुँदो छ, किनकि हाम्रा परमेश्वरको चरणमा छिटो खुशीसँग चढेका स्वदेशी भाइहरू तिनै हुन्‌ । हामी तिनकै झल्काले बाँचिरहेका छौं, तिनीहरू नजीक हुनु हाम्रो आशाको चरम चुली छ।

मृत्यु नै संसारको विशाल त्रास छ । हामी मर्दा स्वदेशी मुटु नकामेको देख्न चाहन्छौं । नकाँप्नुमा हाम्रो जातिलाई विश्वासको स्थिरता छ। हामी आफ्नो स्वर्ग र ईश्वर सच्चा रहेछ भनेर शङ्का र त्रासहरू पन्साउँछौं र हाम्रो मुटु अर्को युगसम्म सञ्चोसँग हाँस्न र खेल्न लाग्छ ।

वीर भनेको त्यो हो जो आफू सम्झँदैन । कीर्तिपिपासु बत्तीको झिल्के पुतली हो। स्वार्थनामेट नै वीरता हो। 'म बहादुर हुँ' को चैतन्य मानौं आत्महत्याको आत्मप्रदर्शनी हो । समर्पणको भावना ईश्वरमा बिजुली मिल्दछ । एक इशारामा उफ्रने आत्मालाई म वीर भन्दछु–जो यताउति हेर्दैन, पछाडि फर्कंदैन ! उसका पूँजीका काँट नै त्यस्तै छन्‌ । उसलाई केन्द्रमा छोइदेक । बस, भझिलिक्क झल्किहाल्छ अनन्तताको मोहनी, अमृतको बिजुली !

सच्चा वीरमा विश्वासको जादू हुन्छ । ऊ एक झिलिकमा पुरुखा देख्तछ । दुश्मनको हाँकमा भन्दा अमरत्वको सहज विश्वासमा वीरको सच्चा टुना छ । उ ! आत्मा उचालियो ! खुट्टा पृथ्वीबाट उठे, समुच्चा जीवन झल्कियो ! उसले सत्य देख्यो । एकै निमेषभर पनि अनन्तको