Jump to content

Page:Laxmi nibandhasangraha.pdf/55

From Nepali Proofreaders
This page has been proofread

सूचना सहजैसँग पाउँदछ र दरिद्रताको घरमा शिशुहृदयमा पनि आर्थिक अन्वेषण नै जीवन हो भन्ने सजिलोसँग अङ्कित रहन्छ । म माष्टर हुन चाहन्थें, पैसा कमाउन, घर उज्यालो बनाउन, दाइलाई मद्दत गर्न, दूघ-भातमा सबैलाई पुर्याउन । चाँडै पास गर्नाको धुनमा खेल्न छाडें । म भातमा स्वाद पाउँदैनथें । मेरो मगज हरहमेशा गाँजा खाएझैं बाबुराम माष्टरका भूगोलका पाठहरूमा घुमिरहेको हुन्थ्यो । म अंग्रेजी किताबका पत्रहरूको सपना देख्तथें, किताबका तकियामा सुत्थें । खेलबहाडमा कहिले-कहिले चार र छ बजेको बीचमा भाइको साथ ज्यादाजसो आग्लो ठोकेर कोठैमा बस्तथें र मिर्मिरेसम्म आँखा पट्टाइरहेकै हुन्थें, राती बाह्र बजेसम्म र बिहान पाँच बजेदेखिन्‌ मेरो पढाइ चलिरहेकै हुन्थ्यो र यही किसिमसँग मैले पाँच वर्ष पहिला पासका निमित्त बिताएँ ।

पढाइ थियो नौ वर्षको, मैले पाँचै वर्षमा खतम गरें र यी पाँच वर्षमा मैले भातको स्वाद पाइनँ, अनुहार ऐनामा कम हेरें हुँला, र पहिला पास नहुञ्जेल जुत्ता नलगाउने कबूल गर्ने कुनै स्पर्धाशील साथीसँग आफ्नो धेरै कुरामा सादृश्य राख्तथें । मैले दुनियाँसँग बोल्दैबोलिनँ भने पनि हुन्छ, न त उसको काममा अग्रसर कहिल्यै बनें । स्त्रीसमाजमा म ज्यादै अप्रिय थिएँ, किनकि म उनका किनमेल इत्यादिमा एक पाइला चल्दैनथैं । पासको धुन सवार थियो । १९२६ ई० मा पहिला पास पटना विश्वविद्यालयबाट गरेपछि मेरो नाक अलि ठाडो भयो तर दिल बुझेन, म अझ पढ्न चाहन्थें र बी०ए० को मोहनीले मलाई बोलाउन लाग्यो ।

म जब त्रि-चन्द्र कलेजमा आइपुगें, रानीपोखरी पल्लापट्टिका मिजाजहरूद्वारा अलि संकोच फुक्तै गए, अलि बहस गर्न, बोल्न अघि सर्न थालें । तर मलाई त्यस वेलासम्म कम बोल्ने, कपटी, घमण्डीसिवाय कलेजका सहपाठीहरूले केही नाम दिएनन्‌, त्यस वेला वर्डस्वर्थका कविताले मलाई निकै प्रभावित गरे र म अलिअलि अंग्रेजीमा र नेपालीमा कविताहरू लेख्ने र अध्यापकहरूलाई पनि बराबर देखाउने गर्दथे । र माष्टर हुनमा मजा त्यसै वेलादेखि चाख्न पनि लागें । चार बजेदेखि छ बजेसम्म एक ठाउँमा र बिहान र बेलुका तीन घण्टा अर्को ठाउँमा ट्यूशन पनि गर्नुपर्यो र साथसाथै विज्ञान पढ्नुपर्दथ्यो । मैले पढिनँ, क्लासमा कान लगाइदिन्थें र उठ्थें । हप्ताको कम से कम दुई दिन घरमा बसेर कविता लेख्थें ।