Jump to content

Page:Laxmi nibandhasangraha.pdf/54

From Nepali Proofreaders
This page has been proofread

हाइ हाइ अंग्रेजी

म जब आठ वर्षको उमेरको थिएँ, तब मेरा दाज्यैजी भर्खरजस्तो इन्ट्रन्स पास भएर त्यस जवानीको ट्यूशनगिरीमा महीनाको तीन सयउपर कमाइरहनुभएको थियो । म उहाँलाई दुनियाँको आदर्शमा ठान्दथें । माताजी पनि बराबर 'त्यसरी पढ्नुपर्छ बाबै ! दाज्यू जस्तै" भनेर स्नेहको अङ्गुलीले उहाँलाई देखाउने गर्नुहुन्थ्यो । मलाई उहाँदेखिन्‌ डर थियो, जस्तो आदर्शमा पुगेका महात्माहरूदेखिन्‌ ठिटाहरू प्राकृतिक तवरले डर मान्दछन्‌ । उहाँको माष्टरमा हुनुपर्ने जस्तो धाक, रवाफ, दबावट र गाम्भीर्य देख्ता म त्यसै काबू रहन्थें र मेरो आत्मा समयको त्यो स्वर्णयुग पर्खिरहन्थ्यो– जसमा म पहिला पास गरेर बेतको छडी हातमा लिँदै लडकाहरूको अगाडि हप्कावट र दप्कावट गर्न समर्ध बनूँ !

त्यस वेला पहिलो पास भनेको मानौं संसारको शिखरजस्तो लाग्दथ्यो । म विद्याको मोहनीलाई त्यहाँभन्दा माथि चढेको देख्न सक्तिनथैं । अंग्रेजी भडभडाउन सक्नुमा नै माहात्म्य हुँदो रहेछ भन्ने लाग्दथ्यो, र म 'पैसा कमाउनुपर्छ, अंग्रेजी पढ्नुपर्छ'को घाईआमाका शिक्षाहरूलाई अक्षरशः अनुसरण गर्न चाहन्थेँ, तर मलाई याद थिएन, कति दुःख, चिच्याट, कति चिन्ताहरूको साथ त्यो माष्टर भन्ने व्यक्तिले जीवन निर्वाहको निर्मोहनीमा आत्मालाई साधारणको धूलिधूसरतामा राख्नुपर्दथ्यो र उच्च गगन देख्तादेख्तै भूइँमा बसेर झोक्रिनुपर्दथ्यो ।

म पढ्दै गएँ, बढ्दै गएँ, इन्ट्रेन्सको मोहनीले गोसाईंथानले पानी बोलाएझैं कठिन चढाइहरू उकाल्दै लग्यो– शायद म भन्न सक्छु बडा पातला चिसा हावामा र मकै सत्तुका खानामा । म खेल्न चाहँदैनथें । मलाई 'पढ्नुपर्छ, पैसा कमाउनुपर्छ'को मोहनीले यताउति हेर्न नदिई लगिरहेकी थिई । घरका चिन्तित बाबुआमाका मुहारहरूबाट शिशुले