जब म बी०ए० भएँ, तब दिनको तेह्र घण्टा जति ट्यूशन गर्न लागें । 'कमाउनुपर्छ, अंग्रेजीमा पढाउनुपर्छ, मास्टर बन्नुपर्छ'को मधुरो गाँजा साइकल चढाएर शहर र पुछार घुमाउँथ्यो । म नेपाली बोल्दैनथें, नेपाली बोल्नेसँग बोल्दैनथें, तर अंग्रेजी बोल्ने बाटामा भेटे गडगडाहटसँग उद्गारित हुन्थें । मलाई यस्तो लाग्यो मानौं नेपालीमा लबजै छैनन्, भावै व्यक्त हँदैन, मानौं नेपाली विद्वान्को भाषा नै होइन । नेपाली बोल्दा जिभ्रो लट्पटिन्थ्यो, जसलाई मैले तेह्र वर्षको तालीममा मालिश लगाइसकेको थिएँ । म अंग्रेजीमा विचार गर्दथें र म अंग्रेजीमै बोल्दथें । नेपाली बोल्दा लाटो-लाटो हुन्थें, अंग्रेजी बोल्दा मलाई प्रशंसाको नजरले मुख ताक्थे । नेपाली बोले विद्यार्थीले मलाई हेप्तथे, अंग्रेजी भडभडाए तिनका घमण्डका नाक भूइँमा जोतिन्थे, मलाई नेपालीको उन्नति नभएको अंग्रेजी शिक्षाको विस्तार नपुगेर भन्ने लाग्दथ्यो । पण्डितहरू देख्ता 'फसिल' जस्तो लाग्दथ्यो; ज्यादै पुराना; आधुनिकताको उज्यालो नपुगेको कट्टर विज्ञानशून्य साङ्ग्रा र सबै भारतीय मध्ययुगी सुषुप्तिलाई तिनका थाप्लामा हालेर मनमनै भन्दथें, 'तिमीहरू कस्ता संकुचित ! " तर आफू पनि पण्डितकै छोरो भएको हुनाले मलाई अलि प्राचीन सभ्यता र संस्कृतिमा श्रद्धा थियो तैपनि 'केही पुगेको छैन वा केही थप्नु, सुधार्नु, बढाउनुपर्छ' भनेजस्तो लाग्थ्यो । म भन्थें 'खै फुर्ती तिनीहरूमा ? काउसो जस्तो, टाँसिए टाँसिए ।' अंग्रेजीमा म ती विचारहरूलाई व्याख्यान छाँट्न पाउँदैनथेँ, अफसोस !
म सुधार गर्न चाहन्थेँ, नवयुग ल्याउन चाहन्थेँ । कस्तो ? जहाँ सारा नेपालीहरू अंग्रेजी बोल्न सकून् । अंग्रेजीमा लेखहरू लेख्न सकून्; भौतिक र रसायनका किताबहरू पढेर नवीन आविष्कार गर्न सकून्; मार्शलका अर्थशास्त्रानुसार सामाजिक स्थिति मिलाउन सकून्; जहाँ वैद्यहरू रसायनका फर्मुला जानून्, जहाँ मान्छेको सुखको जीवनको कक्षा बढोस्, जहाँ नेपालीहरू विज्ञापनका राता-राता भँगेरटाउके अक्षरले संसारअगाडि महत्त्वको ढोलक पिट्न सकून् । म के सुधार गर्न चाहन्थें म भन्न सक्तिनँ ।
मैले लेख्ने बानी नगरेको भए म बिलकुल बेकम्मा गधा हुने थिएँ । कलमले मलाई विकास गरेर लग्यो, र अलिअलि देश, काल, परिस्थिति बुझ्दै-बुझ्दै आएँ, तर अंग्रेजीले अझ मलाई अनुवाद र नक्कल