Jump to content

Page:Laxmi nibandhasangraha.pdf/213

From Nepali Proofreaders
This page has not been proofread

तिमीहरु सोझो बन, अन्तस्करणको आवाजपछि लाग । धर्म भनेको स्वार्थी झगडा होइन । आत्मविरोधले आफैंसँग लडाईं गरेर पाताल पुर्‍याउँछ । डराऊ धर्मसँग, सत्यदेखि, ईश्वरसँग । तलबितलमा नाशहरुका रेखा लेखिएका छन् । तिमीहरु असत्यको आडमा इज्जत राख्न सक्तैनौ, असत्यपछि लागेर स्वर्ग चढिन्न, क्षण–क्षणमा ईश्वरसँग सत्यको होश माग ।

म असत्यको अडान लिने जातिलाई एउटा अनौठो मुर्दाको रुपमा चित्रण गर्दछु– जसमा नसाहरु उल्टिएका छन्, हड्डीहरु बाङ्गिएका छन्, आँखा उल्टापट्टि लागेका छन्, दाँत किटिएका छन्, होश उडेका छन् ।

सत्य ओठमा सजिलोसँग आउँदछ, सजिलोसँग हृदयमा बस्तछ । हामीले होश पाउनुभन्दा अघि विश्वमा झल्किन सक्तछ । अरुलाई असत्यद्वारा अहिले गरुँ भन्नेचाहिं आफ्नो आत्मालाई गुम्स्याएर दुःख दिंदै नरकको बाटो चालिरहेछ । तिमीहरु अनन्तलाई के छकाऔला ? आत्मालाई के मारौला ? के अँधेरोमा सधैं राखौला ? ह्वैन, नहिंड असत्यको गाँजामा । चाँडै नै सत्यतिर फर्किहाल !

तिमीहरुलाई दुःखको विलास छ । ज्वलन चाहन्छौ । केका निमित्त यति दुःख पाउनु मानिसले ? यदि सत्यजस्तो धन गुम्दछ भने ! तर तिमीहरु सत्य मार्न असत्यमा ढिपीदार बन्दछौ । हे आत्मा, नरिसाओ, तिमीहरुलाई सत्यले यति दिनसम्म छोडिसकेको छ कि सत्यको आवाज सुन्दैमा तिमीहरु च्याँठिन्छौ र रिसाउँछौ । नरक मिठो छ, स्वर्ग तितो छ, तर सत्यको जिभ्राले स्वाद लेऊ, मोल उल्टिन्छ ।

भित्र केही भावना नछिपाऊ जो तिमी छद्मवेशमा प्रहार गर्न चाहन्छौ; यसले मलाई होइन, तिमीलाई दुःख हुन्छ । तिमी नजल, सत्यमा ठण्डा होऊ, दोमुखे जीवन आफैं हार खाएर सेलाउँछ । उल्टी– पुल्टीको बेताली यातना खानु मानवविवेक पनि होइन फेरि मानवात्माको आत्मसम्मान पनि होइन ।

सोझो बन । सत्य प्राकृतिक छ, शान्त, धीर छ । कता बढ्ने ? अनन्त अँधेरीतिर कि अनन्त उज्यालोतिर ? असत्यमा आशा नराख । नदेखिने तरवारहरु हरहमेशा तिम्रा आशा काटिरहेछन् । धर्म नरोक, आत्माको सत्य नथिच, त्यो एक दिन उल्टेर तिमीलाई उल्टाउन आउनु परमेश्वरको स्वभाविकै नियम हो । सत्य थिचिंदैन, मर्दैन, नास्तिक