सत्य सोझो हुन्छ
सत्य प्राकृतिक छ असत्य अप्राकृतिक । मेरो आत्मा झुटो चाहँदैन । 'मनुष्यको आत्माभित्र सेतो हुन्छ, सबै कालो हुन्न' ठुला–ठुलाको भनाइ छ । ईश्वर साथ हुन्, मानवात्मा शान्ति–पोषण पाउँछ । असत्य आत्मघाती छ ।
म झुटो बोल्दा दोहरो चलाकी गर्छु, सत्य बुझ्ने र सत्यलाई छिपाउने । झुटो बोल्नासाथ मभित्र वक्रताको प्रादुर्भाव हुन्छ । अनि झुटोलाई स्वीकार नगरुञ्जेल मलाई झुटोउपर झुटो थप्ने प्रवृत्तिहरु बढेर बाङ्गो बाटोमा विभिन्न पत्रे भुलभुलैया बनाइदिन्छन् । सच्चा आत्मा झुटोबाट डराउँछ, मिथ्याका निमित्त उसको सामर्थ्य नै हुँदैन । यिनै वक्रताहरु विकृति हुन्, नरकको कुण्ड भनेको यिनैका क्रिया हुन् । यिनका ज्वलन छ, अँधेरी आतस कम्प ! अनन्त कालको थिचाइले मानवात्मालाई बङ्ग्याएर राख्तछन् ।
त्यो जाति जिउन सक्तैन, जो असत्यको पोषण गर्दछ ! उसका अङ्गहरु बाङ्गिंदै जान्छन् । विचारधाराहरुले अनन्त वक्रता लिंदा अनन्तको उत्तर भागको शक्तिले सत्यतर्फ नसोझिउञ्जेल त्यसलाई दुःख दिंदै लैजान्छन् । असत्यको आधार गरेर जीवनको आशा हुन सक्तैन । संसारको सत्यले त्यस जातिलाई थिचाइमा संहार गर्छ, जो असत्यको वक्रतामा संसारसँग लडाइँ गर्दछ । ज्यादा दीर्घ लडाइँले त्यसका सब अङ्ग नाश हुन सक्छन्, तर थोरै समयको वक्रताले खण्डनाशसँग थोरै अङ्ग भङ्गबाट सत्यको होश मिलेर बच्न सक्तछ ।
त्यसकारण, हे समयका शिशुहो ! सत्यमा लाग । बाङ्गो नबन, आत्मघात वीरता होइन । फोस्रो इज्जत, रवाफ र महत्वले आत्मवञ्चनमा नपस् । सत्यको विरुद्ध बहादुरी काम लाग्दैन । तिमीहरु त्यहाँ नास्तिक हुन्छौ, जहाँ सत्य छाडेर बोक्रे बन्छौ । ईश्वर र अनन्तकाल छकिन्नन् ।