मार्गदर्शनमा छौं । हाम्रा सुईहरु मुसा दौडे झैं दोडन्छन् । अनि आधुनिक कविहरु किन विलौना नगरुन्– यो जाबो जीवन के हो, यदि चिन्ताले परिपूर्ण भएर हामीले एकैछिन उभिएर एकोहोरो हेर्नकै फुरसत पाउन्नौं भने ? साँच्ची नै लोखर्केले सुपारी लुकाउने ठाउँ हेर्न हाम्रो फुरसत छैनः हामी पैसा–पैसा भनी मरिरहेछौं । घडीले हामीलाई सिकायो कि जीवन व्यापार हो तर एकाग्रीकृत अभिप्राय होइन । हामी टिकटमा दोडिरहेछौं । हामी विशालका मुटुको ढुकढुकी सुन्न सक्तैनौं । यो लेख लेख्तालेख्दै मेरो कानमा नजिकको घण्टाघरले चार टड्कारा प्रहार गर्दछ र टिनटिनाहटले मेरो अफिसको समय सिद्धियो भन्ने असर जनाउ दिन्छ । कति मिठोसँग पाठक महाशयसँग कुराकानी चलिरहेको थियो र अरु कति मिठा कुरा निकालौंला भने जस्तो लागेको थियो । तर अपशोच, मेरा सहकारीहरु सबै फट्फटाउन लागिसके । घण्टाघरको राज्यमा मानव–मगजलाई यत्तिकै अधिकार छ र बिसौं शताब्दीको लेखको नमुना यही हो ।
Page:Laxmi nibandhasangraha.pdf/211
Appearance