ओठबाट त्यस्तो ध्वनि निक्लन असम्भव थियो, म त्यसको नक्कल गर्न सक्तिनथें । म मानेदार बनाएर ध्वनि बिगार्थें, मेरा शब्दहरु साना सङ्कुचित सीमाभित्र निक्लन्थे; तिनमा त्यो पाकृत जादु हुँदैनथ्यो– यो विशालको टुना, जो त्यसको थर्कंदो पातले चरीजिभ्रोबाट ध्वनि भएर निक्लन्थ्यो, मेरो खस्रो छातीमा भावनासम्म दिइएको थियो । म चरो हुन्थें बरु ! केही मिहिनाउन त पाउँथें ! यो विवेक बहसपूर्ण वस्तुभेदी बोलीभन्दा मलाई त्यो मिठो लाग्यो ! मानौं त्यहाँ पहाडहरु जम्मै मिलेर मुटुबाट ध्वनि बन्थे ! मानौं विशालको अविदित भाषा त्यसको कण्ठ थियो, त्यो बोल्थी त्यस आत्म प्रकाशनको ऐडीले– जो सिर्जनाको आनन्दमा उठ्तछ ।
मलाई कहिले–कहिले यस्तो लाग्दछ कि माटाको पूर्णता फूल हो र फूलको पूर्णता चरा हो ! फूलहरु बोल्न खोज्दछन् तर शब्द निक्लँदैन; म सूचनाबाट तिनको भाषा टिप्तछु । तर चराहरुमा रङ पनि हुन्छ, कोमलता पनि; त्यसउपर तिनीहरु स्पष्ट बोल्दछन् । हृदयको उद्गार गर्ने शक्ति चरामा देखिन्छ । मानौं सिर्जनाको सुख जीवनको केन्द्रबाट माधुर्य लिएर कुर्लिन्छ । चरी जीवनको हरियो कुञ्जमय रहस्य रञ्जित अनुभूति सुरिलो बनेर भावुक केन्द्रबाट उद्गारित हुन्छ– वेभाषाको टुनादार माधुर्यमा मानौं स्रष्टाको प्रेम विभिन्न चातुरीमा अनेक बनेर एक जीवनको जीवन–आस्वादनको कृतज्ञता प्रकाशक मधुर ध्वनि सुन्न चाहन्छ । मलाई यस्तो–यस्तो लाग्दछ कि जीवन भनेको विशालको आस्वादन हो; पूर्णको भाव हो, विश्वको समष्टिरुपको केन्द्रीभूत चैतन्य हो । यसैकारण दृश्यजगत् उसको ध्वनिको कुर्लेर आउँछ; मेरो जीवन सहानुभूतिको भावले अनुस्पन्दन पाएर आफ्ना आभ्यन्तरिक अनुभवहरु खोज्न कान थापेर अघि सर्दछ ।
म त्यस्तै सानो कुञ्जमा बास गर्दथें, मेरो हरियो रानीवन रमाइलो थियो, म त्यसैलाई रोजेर प्रकृतिमा गुँड बनाएर बसेको थिएँ । मलाई तिनै आकाशमा उड्न मन लाग्दथ्यो, जहाँ त्यस चरीले उषासँग दिन– दिनका सुनौला रहस्यहरु सोध्न जान्थी । त्यही कलकले जलले मेरो आँत रमाउँथ्यो, जहाँ त्यो चरी चुच्चो डुबाउँथी तिनै पहाडहरुको मोहनी मलाई घेर्दथे, जसले चरीलाई बिउँझाएका थिए । नेपाली मट्टीबाट बनेको सानी मूर्तिले त्यही नेपालानुरागी भावुक हृदय लिएर