पुतलीकट हुन्छन्; यिनीहरुलाई नाजिज्मभन्दा ठुलो सिद्धान्त दुखियाँमा हुँदैन र लडाइँ संकुचित राष्ट्रियतामा विश्वास राख्तछन् । एक–एक जुँघामा एक–एक व्यक्तित्व छ र म ओठ नचले पनि जुँघा देख्तै मानिसको चरित्र बुझिहाल्दछु । तर असल–असल मगर र भोटेहरुले भने मेरो मनोवैज्ञानिक परीक्षालाई नस हालिदिन्छन् ।
जुँघामा केही शासन गर्न सक्ने आदरोत्पादक गुणहरु अवश्य छन् । म जब स्कुलमा थिएँ– तब मलाई अरुको उत्तिको डर लाग्दैनथ्यो जत्तिका जुँघे माष्टरजीको । बेतको छडीभन्दा उनका हुङ्कार डरलाग्दा थिए । जब उनी जँघामा हात लगाएर कर्के आँखाले हेर्दथे, तब क्लासको मुटु थर्कन्थ्यो, सबका आँखा कितापमा लाग्दथे । उनी अग्ला, काला, भयङ्कर थिए, त्यसउपर जुँघाको कालो मुस्लोले गर्दा त उनको चेहरा र स्वरुपमा त्यो भयङ्करता, त्यो अदब राख्न सक्ने त्रासोत्पादक तेज देखिन्थ्यो जो लडकाको मनमा सहजसँ प्रभाव गर्दछ । लडकाहरु भन्दथे– जब उनी दायाँ हातले जुँघा मुसार्थे तब केही डर थिएन, त्यस दिन दायाँ हातमा बेतको छडी हुँदैनथ्यो र उनी मजा–मजाका गफ र कहानीले क्लासै बहलाउँथे, तर जब उनी बायाँ हातले जुँघा मुसार्थे तब या त दायाँमा छडी हुन्थ्यो या त चडकनचिउरा । ती जुँघा मेरो मनमा यस्तो प्रभावकारी भएर अङ्कित भए कि एक दिन पाठ घोक्तै–घोक्तै निदाएको मैले सपना देखें– माष्टरजीको जुँघा ! मान्छे पनि थिएन, स्वरुप पनि थिएन, तर साढे तीन अङ्गुलका दुई टुक्रा बिचमा अलिकति फाटेर कसोकसो जोडिएका रहेछन् । म तिनलाई आफ्ना ओठमा चढाउनको प्रयत्न गर्दोरहेछु जस्तो कहिले मकैको जुँघा लाउन केटाकेटीको सोख हुन्छ । त्यो सपनाको मतलब त्यस बेला बुझें जब आफ्ना ओठले जुँघा हाले र म माष्टरको वृत्तिमा लागें ।