राज्य गर्दछे । पुरुषहरुलाई केही पुरुषता नै चाहिन्छ । सिंहलाई जस्तो यालको जरुरत छ त्यस्तै पुरुषलाई जुँघाको, जसमा गम्भीर, शासक हाँकदार मर्दको बडप्पन स्पष्टीकृत हुन्छ । जुँघा उखेल्ने जाइटिङ्ग्रे हुन्छन्, जुँघा राख्ने– जवान ।
मैले 'ले हन्ट' नामक प्रसिद्ध प्रबन्ध लेखकको एक हास्यप्रधान लेखमा पढेथें कि कुनै रानीले आफ्नो स्वामीमा बागीहरुको पक्ष लिइन्, किनकि राजाले उनको जनाना गाला जस्ता मसिना गाला लिएर (याने दाह्री खौरेर) उनको सामना गरेका थिए । त्यस बेलासम्म सभ्यताको कदम सायद ठिक दिशामा रहेछ । त आजकलको महान् परिवर्तन हेर्नुहोस् ! 'लोग्नेको जुँघा राखे रे भनने रिसले एक ममेसाहेबले पिस्तोलको गोलीले विवाहको बन्धनको विच्छेद गरिदिइन् रे ।' आधुनिक स्त्रीहरु जुँघाको किन यस्तो रिस गर्दछन्, म भन्न सक्तिनँ । आजकल स्त्रीहरुले पुरुषलाई मिच्तै ल्याएका छन्; उनीहरु सम अधिकारको मागबाट पनि अगाडि बढिसके, र पुरुषजातिको यस्तो हाँकदार मर्दाना कालो चिह्न देख्यो कि सायद उनका नजर जल्दा हुन् । मनोवैज्ञानिक कारणहरु अनौठो छद्मवेशमा बाहिरका क्रियामा काम गर्दछन् ।
तर मलाई पनि यस्तो लमजुँघे मन पर्दैन जो दुई कानमाथि जुँघाका मुठा बटारेर चढाउँछ र विशेषताको राक्षसी अधिकार राख्तछ । मेरो सिद्धान्तमा प्रकृतिले उब्जाउने र बढाउने कुराहरु ज्यौंका त्यौं राख्नु भन्ने छैन, अलिकति छाँटकाँट नगरेदेखिन् त मान्छे र भालुमा के फरक छ ? भालु–नङ पाल्ने, काने जुँघा राख्ने, झाडी आँखीभैं बढ्न दिने पुरुषहरु सौन्दर्योपासनाका नजका कसिङ्गर हुन् । ती अजायब घरलाई नमुना राख्न सुहाउँछन्, तर संसारको गृहस्थी जीवनलाई अयोग्य नै ठहर्याउनुपर्छ ।
जुँघा पनि थरी–थरीका हुन्छन् । कोही जुँघा घोप्टो हुन्छन् मानौं जुवाको खालमा सब कौडी घोप्टिएर चौका परेको हो । घोप्टे जुँघेहरुमा उत्साह कम हुन्छ, उनीहरु सायद जे भने पनि मान्छन् र 'जी हाँ हजूर' किसिमका पुरुष हुन्छन्; मर्दको नूर नै गिरेजस्तो देखिन्छ । तिनका ठिक उल्टा हुन्छन्, उपरफर्कुवा । जो जुँघा बटार्छन् र माथितिर फर्काएर घुमाउँछन् मानौं यिनका थर 'मै–हुँ–म' हो । तिखोटुप्पे सुइरे जुँघा भन्दछन्, 'कोही टेरे टेर्, नटेरे नटेर्' यो संसार मेरा निम्ति, म हुँ कुबेर !' कोही