Jump to content

Page:Laxmi nibandhasangraha.pdf/203

From Nepali Proofreaders
This page has not been proofread

हाय ! ती दिनको सम्झनालाई आँसु छ, जब भारतका महावीरहरु शत्रुको हृदय थर्काएर आफ्ना पराक्रम देखाउँथे' भन्ने किसिमको कविरोदन कुनै हिन्दी काव्यमा देखेजस्तो लाग्छ । तर जति प्राचीन भारतवीरको तसवीर म देख्तछु, ती सबमा म पाउँछु– जुँघाको भयङ्करता । शिवाजीको तसवीर हेर्नुहोस्– क्या काले, कराले, मुठे जुँघाको भयङ्कर प्राचुर्य र वीरतासंकेतक तालीम ! राजपूत महावीरहरूमा जुँघाको महान् महत्व देखिन्छ । तरवार र ढालभन्दा पनि तिनका जुँघा डरलाग्दा देखिन्छन् । जुँघाहीन वीरता आइसल्याण्डको साँपको उखान जस्तो जँच्तछ । प्राचीन पुरुषहरुमा गठिलो व्यक्तित्व थियो, देख्दै काला–काला डरलाग्दा जुँघे वीर थिए । उनीहरुको व्यक्तित्वको स्पष्ट प्रकाशन ओठमाथिको जुँघामा देखिन्थ्यो । रौद्र, भयानक, भीम जुँघा खोज्नुपरे हामीले भारतको प्राचीन इतिहासका चित्रदार पाना पल्टाउनु मात्र पर्दछ ।

तर हाय ! यो नामर्द युग ! यसमा पुरुषको ओठमाथिको रौंसम्मको सङ्केत पाइन्न ! आत्मनिन्दाको क्रूर छुरा धार लगाएर, प्रकृतिको यस्तो कुष्ण–सुन्दर गहकिलो वरदानलाई सफाचट गरेर वेश्याको पिठो घसेको माथिल्लो ओठ जस्तो मसिनो पार्ने यो वक्र सभ्यताको अधोगतिलाई धिक्कार छ ! आधुनिकताको भूत सवार भएका नवयुवकहरुको रोमहीन ओठमाथि मर्दपना रोई–रोई त्यसै बिलाइरहेछ । मर्दको यो अपराध देख्ता मलाई त पुरुषजाति स्वास्नीमान्छेको अनुकरणमा चलिरहेको जस्ता लाग्दछ । आजकलका नवयुवकहरु नखरे, नाजुक, ओठमा लाली लाएका स्त्रीहरु जस्ता देखिन्छन् । सभ्यता ज्यादै सुकुमारीपनतिर ढल्किरहेछ । विलास, आलस्य, स्वास्नीमान्छेपना र शृङ्गार मात्र यस सभ्यतामा राज्य गर्दछन् ।

जुँघा राख्नामा केही बलियो, गठिलो, हाँकिलो पुरुषार्थ र मजबूत मर्दपनाको सङ्केत पाइन्छ । यी प्रकृतिका काला फर्माइश निरर्थक छैनन् । यिनमा स्त्रीजातिको अनुचित अनुकरणको विरुद्ध मर्दपनाको मिठो बलवा छ । हामी घरकी कुखुरीले ठुगिन चाहँदैनौं । हामी दुर्बल थाङ्ना स्याहार्ने जातिको अगाडि ओठमाथिका आभूषणमा ताउ लगाएर, आफ्नो पौरुषभेद जनाएर अकडिएर मर्दको हुंकारी मर्यादा राख्न चाहन्छौं । आधुनिक पुरुषहरुमा भयङ्करताको मात्रा बहुत कम भएको कारण जुँघाको सफाचट हो, यस्तो अनुमान गर्न सकिन्छ– जुँघाहीन पुरुष भएका घरमा घोडी नै