पहिले जुँघाकै आधार लिन्छ र ओठमाथिको स्पष्ट, निःसन्देह निश्चित रुपको मर्दको चिह्न मुसारेर तपाईंको ध्यानको टड्कारै प्रदर्शन गर्दछ । यो आत्म–आश्वासनको सरल उपाय दिने प्रकृतिलाई हामी धन्यवाद चढाउँछौं ! किनकि जब जुँघा छुन्छ तब तब उसलाई एक किसिमको नवीन स्फूर्ति, नवोत्साह र नयाँ जोश पैदा हुन्छ । जुँघाका टुप्पा–टुप्पाबाट एक किसिमको बिजुली निस्कन्छ, जस्तो बिजुली मेसिनका काइयाँले जम्मा गर्दछन् । त्यही विचारले होला मेरो औंला जुँघाको ताउ लाउन पुगे, जब मैले आफ्नो लेखन–शक्तिमा धिक्कार दिन आँटेको थिएँ ।
वास्तवमा विचारीहरु जुँघा नभए दाह्री नभएका बोके जस्ता हुन्छन् । गौर गर्नलाई सबभन्दा सजिलो उपाय हुन्छ– जुँघा बटार्नु, निमोठ्नु या ताउ लाउनु । कोही–कोही आँखा पल्टाएर जुँघाको टुप्पालाई बटारबुटुरको सास्ती दिंदा–दिंदा आखिर आफ्ना समस्याका हलमा आइपुग्छन्, कसैको बानी हुन्छ– जुँघा उखेल्ने । मैले कसैकसैले जुँघा उखेल्दै टोक्दैसम्म गरेको पनि देखेको छु । कोही खालि ताउ लाइरहन्छन् मानौं त्यस क्रियाबाट हरेक पटक उनीहरुलाई एकै किसिमका आत्म– सूचनशक्ति मिल्छ । यो कुरा धेरैबाट सिद्ध हुन्छ कि जतिजति जुँघालाई सास्ती दियो उति पुरुषको स्फूर्ति र जाँगर बढ्दो रहेछ । तर हाय ! ती असल–असल मगरहरु– जसका नास्ति जुँघा न दाह्री ।
जुँघा भनेको मर्दको सौन्दर्य हो, पुरुषार्थको चिह्न हो, ओठमाथिको आभूषण हो, पूर्णवयस्कताको टड्कारो छापा हो, पराक्रमको झुप्पा हो, स्फूर्तिको बिजुलीकाइँयो हो, निराशपनाको आधार हो, भालेको कल्की हो र यही कालो गुच्छादार रेखीमा संसारका मर्दको मर्यादा र रवाफ रहेको रहेछ । जतिजति बल बढ्दै गयो उति–उति माथिल्लो ओठमा कालो रेखी बस्तै जान्छ । जतिजति मर्दले संसार बुझ्दै गयो उतिउति त्यो लम्बिंदै जान्छ र जतिजति पुरुषर्थ गर्दै गयो उतिउति त्यो सम्मिंदै जान्छ । 'ओठमाथि जुँघा छ भने तेरो पाइन हुरुँ त' भन्ने दुश्मनको हाँक हुन्छ । स्यालका 'जुँघा नउखेली !' भनेर रिसाएको मर्द बुर्लक्क उफ्रन्छ । बाघका जुँघा उखेलेर शिकारीले बहादुरी देखाउँछ । संसारमा जता हेर जुँघाको महत्व घामको उज्यालोमा झल्किरहेछ । मकै जस्तो जड चिजले पनि जुँघाको महत्व पहिचानेको छ । बिरालो जस्तो चोर जन्तुलाई पनि जुँघाको उपयोगिता याद छ ।