त्यस्तालाई हामी चालिस–पचास रुपियाँ थपेर 'जा बाबू,संसारको यात्रा गरेर आइज' भनेर पठाइदिन्छौं ! त्यो त मानव आत्माले खतरासम्म खोजेको पो ! महिनाभरि एक सय असी घण्टा बाँधिएर सधैं उस्तै गरी आइरहने बोधो तलब लिनुमा के मोहनी छ ? डब्लिने, तेब्रिने, चौबर, पचबर हुने औपन्यासिक्ता तिब्र कल्पना वालाले खोज्दछ । रुपियाँको पनि त बाकसमा कुइरहने जीवन होइन । सडल–पडलपन अहंमानी प्रौढको लक्षण हो । चतुरो लडकालाई कल्पनाले मोहनीदार संवर्द्धनको कानेखुसी गर्दछिन् र दुनियाँमा स्वतन्त्र तवरले गएर एक मुठी रोपेर एक मुरी सुनौला बाली हात लगाऊँ भन्ने प्रवृत्ति प्रशंसनीय नै छ ।
बाबुआमाहरु झन् भयङ्कर जुवा खेलिरहेकै थिए । परमेश्वरले मनुष्य–जातिलाई दिएको एउटा दौलत समय हो, जसका अमूल्य क्षणरत्नहरु उनीहरु हरहमेशा फ्याँकिरहेछन् र बडो बोहोशीसँग । आफ्नो दाउसम्म पनि उनीहरुलाई याद छैन । उनीहरु जथाभावी थापिदिन्छन् । पुत्ररुपी सुनौला राम्रो मौका उपयोग गर्न जान्दैनन् । पुरानो खतराहीन बाटोमा लगाउन चाहन्छन् । भीरुता आफैं दण्ड पाउँछ; बागी बुद्धि जीवन खोज्दछ र ठट्टाउँदा अक्षरहरुलाई छोडेर खतराको क्षेत्रमा दगुर्दछ ।
चार–पाँच जना ग्य्राजुएटहरु या पण्डितहरु एक–एक रुपियाँ साटेर एउटा छिंडीमा जुवा खेल्न बसून् र चुड्किला गफहरु गरुन् । कौडकिो उलटपुलटउपर राम्रा–राम्रा श्लोकहरु निकालून्, भाग्यको लहडी खेलउपर अध्ययनका नजर लगाऊन् र आफ्नो सर्वस्व गुमेको र डब्लिएको उपर समालोचना गर्दै आऊन् । यो पनि एक किसिमको मजा हुन्छ । पण्डित लेखनाथ पौड्यालले जुवा नखेलेको भए त्यो राम्रो चुड्किलो बहुमूल्य नाटक 'लक्ष्मी–पूजा' को नामले नेपाली साहित्यको क्षेत्रमा आउने थिएन । 'जुवा खेलेको छ, जुवा खराब हो, जुवा खेल्नलाई साथीभाइलाई बोलाउनु आत्म–विरोध जस्तो देखिन्छ तर सबै विरोधहरु तेस्रो तत्वमा साम्य पाउँछन् ।' उहाँ कौडी पनि हान्नु हुन्थ्यो र बराबर आफ्ना चुड्किला श्लोकहरु सुनाउनु पनि हुन्थ्यो । उहाँका मुखमा खालि प्रसन्नता देखिन्थ्यो, निखरा खेलको पवित्र आनन्द ! तर त्यस आनन्दलाई साहित्यिक बनाउन सक्नुमा तारिफ थियो, वहाँ रुपियाँलाई सेता मौरी र पैसालाई राता मौरी भन्नु हुन्थ्यो; उहाँका नजरमा तिनीहरुका पखेटा थिए र उड्दथे, चार दाउका चार दिशातिर । उहाँ एक किसिमको