Jump to content

Page:Laxmi nibandhasangraha.pdf/195

From Nepali Proofreaders
This page has not been proofread

रहन्छ मानसिक अवस्थाको महत्वमा । अरु मानिसहरु भाग्यका आत्मपक्षी र विरोधी लहरीहरुले उचालिन्छन् । तर आफू यस्तो मधुर मानसिक काँटमा रहियोस् कि क्याँट लक्कुहरुले मजाको रमरम मात्र दिऊन् । भावनामा ज्यादा धक्का नदिऊन् । चाँडै नै खुशाउनु र चाँडै नै रिसाउनु प्रभावित हुनु या सेलाउनु अर्धसभ्य र जङ्गलीहरुको लक्षण हुन् । आफ्नो तत्वमा निर्भर रहेको आत्मालाई सांसारिक हावाको लहरहरुले हम्मेसी छुन सक्तैनन् र ऊ आफ्नो तराजु नडगाएर शान्त रसिक रहन्छ । ऊ पनि एउटा साधु हो । उसले बदली र हुरीलाई नाघिसकेको हुन्छ । उसको मन सँग्लिसकेको हुन्छ । ऊ संसारको जुवालाई घृणा गर्दैन, तर आफ्नो अडान एक दार्शनिक तत्वमा लिन्छ । उसको चेहरा हमेशा बदलिंदैन, संसारमा 'मारा' हरु छन् भन्ने उसलाई थाहा छ र विभिन्न भावका चेहरामा परिवर्तनशील रङहरु पनि । तर उसको चेहरा बदलिंदैन, ऊ लाभका निमित्त पनि आएको छैन, हानिका निमित्त पनि । खराब खेलको मनोरञ्जकता र त्यसको सजीव आनन्दका निमित्त ऊ जीवनमा आएको छ ! अलिकति आफ्नो केही पनि दिन्छ र अरुको आनन्द पनि बढाउँछ र आफ्नो भाग्य पनि बराबर लिन्छ, तर उसलाई चलिरहेको हल्लाले छुँदैन, ऊ घमासानमा छ, तर आफू लडाइँ गर्दागर्दै पनि लडाइँ गर्दैन, आयो भने ओठसम्म मुसुक्क हाँस्तछ, मानौं साधुले गुणको इनाम यही जीवनमा दैवेच्छाले पाए जस्तो भावले ! उसलाई थाह छ कि जीवन पनि एउटा खेल हो, तर हारे पनि जिते पनि खेलको आनन्द र अभिप्राय त्यसै खेलाडीका निमित्त हो, जो सच्चा उत्साहसँग अविचलित भाउले दाउ देखाउँछ । रिस–रागहरु असंवर्धित पुरुषहरुका विकृति हुन् भन्ने उसलाई ज्ञात छ । ऊ खालको एउटा ऋषि हो । ऊ अध्ययन पनि पाउँछ तर उसलाई पूरा तवरले अध्ययन गर्न सक्ने हुँदैन ।

जुवा नखेल्नु भन्ने उपदेशहरु चाणक्यनीति जस्ता औपन्यासिकता- विहीन मामुली कट्टर नीतिपन्थी बोक्रे साँपा उक्तिहरु हुन् । हाम्रा नीतिहरु ज्यादा सस्ता हुनु नै जीवनको दुर्भाग्य छ । अलिकति मौकामा अग्रसर नहुनु त कातरपना हो । खतरा नभएको जीवनमा हामी जिउन सक्तैनौं । आमाको चोलीबाट या बाबुको तुनाबाट सुटुक्क साँचो चोरेर तिहार खर्चलाई कोजाग्रतको जाग्रामको क्षेत्रमा लगेर रोप्ने प्रवृत्तिलाई हामी खालि छडीको फैसला दिन चाहँदैनौं । त्यस्तै लडका ज्यादा जीवनमा सप्रिन्छन् ।