भोजनभट्ट हुनु हुन्थ्यो; र केही पात्रहरु बटुलेर जीवनरुपी जुवालाई उतसाहपूर्वक अध्ययन गर्नु हुन्थ्यो । कहिले संस्कृत श्लोकहरु र कहिले नेपाली श्लोकहरु बराबर निक्लन्थे । जुवाको चेहरामा साहित्यको रङ पर्दथ्यो ! मेरो विचारमा उहाँका निमित्त जुवाको एउटा दुनियाँ नै बनिसकेको थियो, जसमा काल्पनिकता र वास्तविकता मिसिएका थिए । जस्तो नाटकमा उहाँले जुवालाई जीवन जस्तो बनाउनुभएको छ र गम्भीर भावहरु मामुली शब्दद्वारा झल्काउनु भएको छ, त्यस्तै उहाँले जुवा खेल्दा जुवाभित्र अर्कै औपन्यासिकता देखिंदो हो ।
मलाई जुवा मजा लाग्दछ, मन बहलाउन र अध्ययन गर्न यसमा प्रशस्त मौका देख्दछु । कोही मानिसहरु यसलाई जीवनको पेशा नै बनाउँछन् ! कौडी जोखेर ऐनामाथि अभ्यास गर्दै हातको ओजन र कौडीको रखाइमा अभ्यास गर्दै जुवा जितेर घरजम गरुँला भन्ने मनुष्यहरु आशावादीको श्रेणीमा रहन्छन् । तर असम्भव भनेको केही रहेनछ । कोही–कोही यस्ता छन् कि कौडी र हात घोटी–घोटी अभ्यस्त हुँदा–हुँदा चैपट चौका, बागपञ्जा, छट्टु छक्का र तेजी तीया बनेका हुन्छन् । धेरैजसो जुवा यिनीहरु हार्दैनन् र अक्किल गरेर जुवाबाट केही–न–केही लाभ प्रतिवर्ष गरिरहेकै हुन्छन् । यिनीहरुको सिको सिक्नेहरु अनेक किसिमका ढङ्ग देखाउँछन्, कोही जमिन र हातको अन्तर कुरेतले नापेर कौडी छोड्छन् । कोही कौडी मुठी पार्नको कला देखाउँछन् । पेशादार जुवाडेहरु सोह्र कौडीलाई आफ्नो वशमा ल्याउन सक्तछन् भन्ने कुरामा कोही–कोहीलाई आश्चर्य लाग्दछ तर तिनीहरुलाई कौडी नै एउटा किताप छ जो तिनीहरु हरहमेशा अध्ययन गरिरहेछन् । रासायनिक तराजुको काँटा मनुष्यका हातमा दीर्घ अभ्यासले आउँछ, नसाहरु आफ्नो फेंकको जोड सूक्ष्म तवरले अन्दाज राख्तछन्; हातको छालाले हरेक कौडीको मुटुका प्रवृत्तिहरु छामेर सम्भावनाको तौल लिन्छ र यस बेला यति घोप्टो र यति ठाडो पर्ला भन्ने अन्दाज राख्तछ । सूक्ष्मितसूक्ष्म विज्ञान उनीहरु नै बुझ्दछन्, जो कौडीलाई जीवन समर्पण गर्दछन् । नमार्ने पहिले नै ज्यादाजसो थाहा पाउँछन्; तर मानिसको कलपुर्जामा हरहमेशा कलात्मक समाधि रहन सक्तैन । खित्रिक्क ठाउँ–ठाउँमा बिग्रिन्छ र जस्तै जुवाडे भए पनि म सधैं धोक्रो भर्छु भन्ने निश्चय राख्न सक्तैन । तैपनि त्यतिसम्म गर्न सक्नु पनि अन्दाज, अडकल, अक्किल र जुवा-