This page has not been proofread
मानसिक र शारीरिक शक्तिहरुलाई बचाउने तवरले मिलापसँग संवर्द्धन दिन्छ; जसले मानवात्मालाई आफ्नो भित्री शक्ति र सूक्ष्मातिसूक्ष्म भावनाहरुमा सचेत गराउँछ, जसले सत्यको पथमा मनुष्यको अनन्त शक्ति पत्ता लगाई विकासशील क्रमहरुद्वारा प्रकाशनशील बनाउँछ, र बढ्दो शक्तिको साथ त्यस्तो अमीर चैतन्यको विकास गराउँछ, जसले हितकारिताको सामर्थ्यदायी नै आत्मबलको गौरव सम्झन्छ । जसले प्राकृत आभ्यन्तरिक उद्गारमा साम्य, सौन्दर्य र सत्याभास दिन्छ र हरहमेशा जागरित राख्तछ, विश्वास उत्पादन गर्दछ र विश्वासका अमर नियमहरुद्वारा स्वर्ग र ईश्वरको चेत खँदिलो बनाउँछ, जसले मानवताको आह्वान आत्मालाई कसरबिना उचालेर प्रत्युत्तरदायी बनाउँछ ।