Jump to content

Page:Laxmi nibandhasangraha.pdf/184

From Nepali Proofreaders
This page has not been proofread

बिग्रनलाई बाबुका निधारका मोतीले तिर्दथे, र यति गर्नका निमित्त जीवनको आधा भाग लगाउनु कुन बुद्धिमानी भयो ? मलाई अपशोच लाग्छ यतिका मूल्यवान् वर्षसम्म राष्ट्रको शिशु निरर्थक आत्मविकारको क्रममा चल्दछ । हामी कहिले परिपक्व हुने ? मलाई हतपत लाग्दछ । गूँगो कलम देख्तै रिस नउठ्नु उन्नतिशीलको लक्षण हो । कलेजले पढाउने कुरासम्म त दश वर्षमा कथाकुथुङ्ग्रीबाटै सिकिहालोस् न यो कुरा कहानीबाट ! अनि सोह्र वर्ष हुँदा दुनियाँ बुझेर अगाडि सरोस् न नवयुवक ! म सुन्दछु बाह्रहाते तीन वर्ष काट्यो क्या र ! तर वर्षको भेडो बन्नुमा के देखियो यहाँ ! पन्ध्र रुपियाँ, एक सय असी घण्टा काम गरेर ! अनि गरिबका बाबुआमाले के मोहनी देखून् ? अझ म चाहन्छु कुरा गर्ने शिक्षकहरु दुनियाँमा डुलून् । खुला इस्कुल बनुन् । छानिएका सत्पात्रहरुद्वारा दुनियाँलाई शिक्षित हुन दुई दिनको कुरा छ । पन्ध्र–बिस वर्ष पढेर दाढी पाकेर बिग्रिसकेका हुन्छौं या दोस्रो संसारमा बेपरवाहको नतिजा भोग गर्न पुगिसकेका हुन्छौं । समयको दुरुपयोग देख्दा आत्मा सन्तुष्ट रहँदैन । हामीले शिक्षालाई जीवनमा लागेर घरघरमै घुमाउनु पर्दछ । 'सुरु भएकै छैन' भन्ने पनि छन् नि ? उपाय हजारौं निक्लन्छन् त्यहाँ, जहाँ हामी मगज लगाउँछौं । श्रद्धासँग यो पन्ध्र वर्षलाई काटेर पाँचौं वर्ष गराउन सकियोस् त ? दश वर्ष जीवन राष्ट्रलाई थपिने थियो र हामी दश वर्षका कष्ट नपाई दश वर्ष अग्रसर हुने थियौं र अरु जाति फेरि अरु पन्ध्र वर्ष पढ्दै गर्ने थिए र हामी पाँचै वर्षमा तिनलाई उछिन्ने थियौं । सापेक्षित दृष्टिमा हामी तिनसँग बिस वर्ष नाफा गरेर जीवनको दौड छोड्ने थियौं । तर हामी मेहनती जाति भए पनि कट्टर प्राचीनवादी छौं । अनुभवदेखि डराउँछौं । तर यहाँ खतरा छैन । खालि दुई–चार मगजदार मिले उपाय निस्किन्छ । हामी दश वर्षका शव वेदनाबाट नवयुगका शिशुलाई बचाउँछौं । 'असम्भव' भन्ने पनि कुनै छन् नि ! तिनीहरु सस्तो नैराश्य लिने किसिमका कठिनतावादी हुन् ! शिक्षा सुधारमा राष्ट्रको सुनौलो भविष्य छ ! झुपडीसम्म किताब पुर्‍याउन सकिन्छ र खेतमा परीक्षा ।

शिक्षा म त्यसलाई भन्दछु, जसले मानिसलाई पूरा मानिस बनाउँछ, जसले जीवनले अल्पतामा दृष्टि राखेर समयको हिसाब उपयोग गर्न सिकाउँछ र सबभन्दा उत्तम मानवोपकारी क्रियाकलापमा जसले सबै