Jump to content

Page:Laxmi nibandhasangraha.pdf/186

From Nepali Proofreaders
This page has not been proofread

गौरीशंकर यात्रा

बालकको इन्द्रेनीपछि दौडिने र चन्द्रमा हातले पक्रन खोज्ने तिर्सनाहरु सभ्यता र उन्नतिका प्राकृतिक प्रेरणा हुन् । मानौं प्राकृतिमाताले हरहमेशा 'लौ पुग न त नानी' भन्ने उत्तेजनाले हाम्रो बालचरण ठड्याउँदै र चलाउँदै गरिरहिछन् । मनुष्य नवीनता र अन्वेषणका मोहनीका पछि लाग्दा अनेक–अनेक चमत्कारहरु प्राप्त गर्दछ । अझसम्म नपुगेका उच्चताहरु हातलागी गर्नामा हामीहरु हरहमेशा अनौठा आनन्द अनुभव गर्दछौं । अविदितले सदा आमन्त्रण गरिरहेछ र अजेयले सधैं हामीलाई नवीन जितबाजिको प्रेरणा दिइरहेछ । हामी त्यहाँ पुग्न चाहन्छौं जहाँ कोही पुगेका थिएनन् । त्यो चिज ल्याउन चाहन्छौं जो कसैले ल्याएका थिएनन्, त्यो शक्ति देखाउन चाहन्छौं जो कसैले देखाएका थिएनन् । अगम्यको प्रेरणाले हाम्रो पयर सजीव बनाइरहेछ, अगोचरले हाम्रा आँखा आकर्षित हुन्छन्, अनिर्वचनीयले हाम्रो भाषा नवीन सिर्जना र विस्तार पाउँछ; अजेय शिखरहरुले हरहमेशा हाम्रो आत्मालाई स्वर्गको झल्को देखाएर स्वर्गाह्वान गरिरहेछन् ।

हामी त्यस देशका यात्री छौं, जहाँ कोही पुगेका छैनन् । नचिनिएका कुराबाट ज्ञानको मोहनी आउँदछ, र दर्शन नपाएका मन्दिरतिर हामीहरु हरहमेशा ढुङ्गा भएको बाटोमा पनि मोहनी देख्तछौं । मानवात्मा सुत्न चाहँदैन; उठ्न, खोज्न र जित्न चाहन्छ । मलाई सुन झल्किने चुलीहरमा यात्री हुँदा स्वर्गको खोजमा हिंडेजस्तो लाग्दछ । नेपाली शिखरहरु अनौठो भाषणले बोलिरहेछन् । त्यहाँ सत्यको सुन्दर स्वर्ण मोहनी प्रतिदिन झल्किरहेछ । म पहाड गन्दिनँ यदि शिखर नै मेरो ध्येय छ भने । अन्वेषित ध्रुवहरु मेरा यात्राका विलासहरु छन्, म समुद्रको पिंधमा डुबेर मोती खोज्न चाहन्छु । सडकको ढुङ्गाले मलाई टुना लगाउँदैन । नौला चिजमा मोहनी नाच्तछन् । संसारका सबभन्दा ठुला चुलीहरु