लम्बा लवज जान्नु विद्वता कहलाउँछ । आफ्ना भाषामा समझ बोल्ने अशिक्षितभन्दा विदेशी भाषामा नासमझ बोल्ने विद्वान् ठहरिन्छ । हामी अङ्ग्रेजी देख्तै श्रद्धा गर्दछौं । स्वदेशी भावहरु हामीबाट निक्लँदैनन् । हामी हिन्दू जातिलाई हेप्तछौं । तान्ने किसिमका जान्ने हुन चाहन्छौं । सङ्कीर्णता, विकीर्णता नै शिक्षा हो । जीवनबाट दूर गराउनु विद्यालयको क्रम छ । हामीलाई के चाहिएको छ त्यो बुझ्ने थोरै छन् । प्रवृत्तिहरुको संस्कारशील पोषण पाइन्न । मगज बिग्रिन्छ जस्तो चर्कुल्लो पिपिले गानको मधुर आत्मा प्रतिभाशाली व्यक्तिहरु मूर्ख बनाउने प्रमाणलाई शिक्षा नाम दिइएको छ । यहाँ गर्व, अहंकार, मद, मात्सर्य, म्लेच्छता,
शक्तिप्रेम, हिंसात्मक प्रवृत्तिहरु र असत्यको हरएक किसिमका तत्वकला
अक्षरहरुद्वारा उचित तवरले पढाइन्छन् । तब ज्ञान मगजमा बस्तछ, हृदय रित्तो बन्दछ र झिलिमिली चतुरताको सिंगार पाएको खप्परे सुगा झैं दोहोरावटमा आत्मशमन राखेर खोक्रो बोली बोल्ने सोखमा फुर्फुरिन्छ ।
हामी कति समय बरबाद गरिहेछौं यत्तिका निमित्त ! जति मैले बि. ए. सम्म पढें त्यति त मलाई विश्वास लाग्छ तीनै वर्षमा केटाकेटीलाई कथा सुनाएर तिनीहरुसँग कुरा गर्ने एउटा बालक निकेतन बनाए म सजिलैसँग बालबालिकाहरुका मनमा झन् राम्रो तवरसँग घुसाइदिन्थें । मानिस अझ अर्धशिक्षित छँदै छ र न्यून सवर्द्धित । मलाई खेद लाग्दछ कि यत्तिको मिहिनेत बेकार गयो । पन्ध्र वर्ष ता पढिसकें र मेरो जीवन सालाखाला पच्चिस होला । तर के हात लाग्थ्यो ? कागजको खोस्टो, जसले मलाई हरहमेशा गिज्याइरहेछ र संसारलाई हरहमेशा छकाइरहेछ । मैले त्यस कक्षासम्म राम्ररी न पढें न आइपुगें । जाँचको ऐंडीमा नम्बरका निमित्त पढियो । थोरै जिज्ञासाले पढियो होला र ? किताबले राम्ररी मेरो हृदय छुनै सकेन, नत्र मलाई आजकल किताप पढ्नेदेखिन् किन यत्रो आलस्य र वैमनस्य लाग्दथ्यो ? पन्ध्र वर्षको बोध चिच्याहट पाई पढ्दै नपढूँ जस्तो लाग्नु आधुनिक शिक्षाको लक्षण हो । कति सस्तो सन्तोषले हामी बि. ए. एम. ए. हुनासथ किताब पन्साउँछौं । मुख्य काम छ रोटी कमाउनु, नौनी लगाउनु ! मलाई त्यो कुरा पढाउन शरम लाग्दैन जो म आफैं जान्दिनँ ! दुनियाँ आशा गर्दछ म उसलाई निराश गराउन चाहन्नँ । यसरी मैले कति सय लडका बिगारिदिएँ हुँला ! उनीहरु